१४ असार २०८१, बिहीबार
Follow Us

पोर्चुगलमा बुद्धजयन्ती मनाउने तयारी

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०८१, आईतवार १३:४९

लिस्वन । पोर्चुगलको राजनधानी लिस्वनमा यही मे २३ तारिखका दिन २५६८ औं बुद्धजयन्ती भव्यरूपमा मनाइने भएको छ । यहाँस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको मुख्य आयोजनामा बुद्ध जयन्ती मनाउन लागिएको हो ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप हरेक बर्ष यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

सोही अनुरुप नेपाली महाबाणिज्य दूतावासले यसवर्ष पनि विगतका बर्षहरु झैं बुद्धजयन्ती मनाउन लागेको हो । बुद्धजयन्ती धुमधामका साथ मनाई विश्वमाझ बुद्धभूमि नेपाल र बुद्धबारे प्रचार गर्नका लागि महाबाणिज्य दूतावासको संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरिएको छ । महाबाणिज्य दूतावास मुख्य आयोजक भइ यसबर्ष यहाँस्थित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, नेपाल आदिवासी जनजाति महासंघ र नेप्लिज वुमेन एसोसिएसन सहआयोजक रहेका छन् ।

कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न जिम्मेवारी पनि तोकिएको छ । जस अनुसार यहाँस्थित सरकारी निकाय तथा समग्र व्यवस्थापनको समन्वय महाबाणिज्य दूतावास कार्यालय, बाजागाजा र मंच व्यवस्थापन एनआरएनए पोर्चुगल, पूजा, लामा र भेषभूषामा आदिवासी जनजाति महासंघ, फलफूल तथा पानीको व्यवस्थापनमा नेप्लीज वुमेन एसोसिएसन, जनपरिचालनमा वैचारिक लगायत सम्पूर्ण संघ-संस्था र प्रचारप्रसारको समन्वय एनआरएनए आइसिसी सदस्य एवं पत्रकार महासंघ युरोपका उपाध्यक्ष राजकुमार थापालाई जिम्मेवारी तोकिएको छ ।

बुद्धजयन्तीका दिन बिहान नौ बजेदेखि मार्टिम मुनिज पार्कमा भगवान बुद्धको पूजा आराधना गरिने र दिउँसो ३ः३० बजेदेखि र्‍याली सुरु गरिने महाबाणिज्य दूतावासले जनाएको छ । महाबाणिज्य दूतावासका अनुसार प्रासा दि कमर्सियोबाट सुरु भएको र्‍याली रोसियो, रेष्टुरादोरेस हुँदै मार्टिम मुनिज पार्कमा आएर कोण सभामा परिणत हुनेछ ।

सो अवसरमा पोर्चुगलस्थित सम्पूर्ण संघ संस्था, नेपाली समुदाय, सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवी, पत्रकार लगायत सम्पूर्णलाई भगवान बुद्धको फोटो र बुद्ध उपदेश अंकित प्ले कार्ड, नेपालको राष्ट्रिय झण्डा र आ-आफ्नो समुदायको भेषभूषामा उपस्थित भई र्‍यालीलाई भव्य, सभ्य र आकर्षक बनाउन आ-आफनो स्थानबाट सहयोग गरिदिन पनि बुद्धजयन्ती मूल आयोजक समितिले आग्रह गरेको छ ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धले बुद्धगयास्थित पीपलको रूख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसापूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरेका थिए ।

विश्वजगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिएका थिए । यसै कारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुपधारण गरेको छ ।