२७ बैशाख २०८१, बिहीबार
Follow Us

पोखरामा माओवादी केन्द्र र भरतपुरमा कांग्रेसद्वारा मेयरको उम्मेदवारी फिर्ता

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७४, बिहीबार १४:१९

काठमाडौं । कार्यकर्ताको बिराधका बीच नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारी फिर्ता लिएको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँगको सहमति अनुसार कांग्रेसले दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिएको हो । कांग्रेसले उम्मेदवारी फिर्ताको जानकारी पत्रमार्फत निर्वाचन कार्यालयलाई गराईसकेको छ ।
कांग्रेस र माओवादीबीच काठमाडौं र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई समर्थन गर्ने र भरतपुरमा कांग्रेसले माओवादीलाई समर्थन गर्ने सहमती भएको थियो ।
माओवादी केन्द्रसँग चुनावी तालमेल भएको विरोधमा चितवनमा कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध नारावाजी गर्नुका साथै केन्द्रको निर्णय अस्विकार गर्ने बताएका थिए ।
उता, पोखरा लेखनाथ महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेलको निर्णय भएसगै लामिछानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता पश्चात संक्षिप्त प्रतिक्रिया दिंदै लामिछानेले आफ्नो व्यक्तिगत इच्छा र चाहनाभन्दा पनि पार्टीको निर्देशनपछि उम्मेदारी फिर्ता लिएको बताए । उपमेयरमा भने दुवै पार्टीको उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् ।