२ असार २०८१, शनिबार
Follow Us

रमेश लेखक कार्यसम्पादन समिति सदस्यमा मनोनीत

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०८१, बिहीबार ०३:०८

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले लेखकलाई विधानको धारा २३ (२) बमोजिम केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत गरेका हुन् । १४ औँ महाधिवेशनपछि काँग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय बनेको छ । तर केन्द्रीय समिति बैठक बस्न नसकेका बेला सो सरहको निर्णय अधिकार रहेको कार्यसम्पादन समिति भने ४६ सदस्यीय मात्रै हुन्छ ।

सभापति देउवाले अहिलेसम्म कार्यसम्पादन समितिलाई पूर्णता दिएका छैनन् । यसअघि ३७ जना सदस्य रहेको कार्यसम्पादन समितिमा देउवाले बिहीबार लेखकलाई थपेका हुन् । देउवाका विश्वासपात्र रहेका लेखक पछिल्लो समय संसदीय दलको प्रमुख सचेतक भएपछि थप सक्रिय देखिन्छन् ।

काँग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको व्यवस्थाबमोजिम लेखकलाई केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत गरेको जानकारी दिए । उनी मनोनीत भएपछि अब कार्यसम्पादन समितिमा आठ सदस्य रिक्त छन् ।