४ असार २०८१, सोमबार
Follow Us

जर्मनीमा ‘नेपाल डे’ (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०८१, शनिबार १०:५४

कोलोन । जर्मन नेपाल मैत्री संघले ३५ औं नेपाल डे (नेपाल दिवस) शनिबार मनायो । जर्मनीको कोलोन शहरमा नेपाल डे विशेष कार्यक्रममा नेपालको पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदान प्रदान र पूर्वाधार विकासमा जोड दिइयो । नेपाल दिवसमा यस वर्ष ‘परिवर्तनको चाहना, के सपना मात्र हो ?’ नारा रहेको छ ।

कार्यक्रममा नेपाली तथा जर्मन पर्यटन व्यवसायी, गैरआवासीय नेपालीहरु, डाक्टर, इन्जिनियर, लेखक, अनुसन्धानकर्ता, दोस्रो पुस्ताका युवा, पत्रकार, कलाकारहरु, समाजसेवी सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति कार्यक्रममा नेपालमा पूर्वाधार विकास, राजनीतिक विश्लेषण, सांस्कृतिक र पर्यटन, लगानीका विषयमा विमर्श गरियो ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले जर्मन नेपाल मैत्री संघको आयोजना प्रत्येक वर्ष हुने नेपाल डेले नेपाल र जर्मनीबीचमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनहरुको बारेमा सूचना आदानप्रदान गर्न महत्वपूर्ण भएको बताए ।

कार्यक्रमले नेपाल र जर्मनीबीचको व्यापार, पर्यटन र संस्कृति लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए । उनले जर्मनी र नेपाल सरकारले पछिल्लो समयमा कृषि उत्पादन, आईटी, भौतिकपूर्वधार विकास, दीगो शान्ति लगायतका क्षेत्रमा संयुक्त रुपमा मिलेर काम गरेको चर्चा गरे । उनले नेपाल डे कार्यक्रमले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण हुने बताए । यस्ता कार्यक्रमले भविष्यमा सकरात्मक र रचनात्मक कार्यक्रम गर्न थप हौसला मिल्ले उनको भनाइ थियो ।

नेपालको लागि अवैतनिक महावाणिज्य दूत एवम् संघका अध्यक्ष रामप्रताप थापाले नेपाल डे कार्यक्रमले नेपाल र जर्मनीबीचको सम्बन्ध बलियो बनाउन औजारको रुपमा स्थापित भएको बताए । उनले वितग ३५ वर्षदेखि निरन्तर जर्मनीमा मनाउदै आएको कार्यक्रमलाई सुरुका दिनदेखि सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा नेपाल डे लाई थप परिस्कृत गर्दै लैजाने जानकारी दिए ।

नेपालका लागि जर्मनी राजदुत डा.थोमस प्रिन्सले शुभकामना सन्देशमार्फत् नेपाल डे कार्यक्रमले नेपाल जर्मनीबीचको सम्बन्धमा कोषेढुंगा हुने बताए । उनले जर्मनीले नेपालको बिभिन्न विकासमा सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा नेपालको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने एक शुभकामना सन्देश मार्फत नेपाल डे कार्यक्रमले नेपालको पर्यटन प्रर्वधनको लागि महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रमले संस्कृति आदान प्रदान र व्यापार प्रर्वधनमा समेत सहयोग पुग्ने बताए ।

कार्यक्रमा नेपालको लोक संस्कृति झल्किने लोक नृत्य तथा विशेष सांस्कृति कार्यक्रमको प्रस्तुति गरिएको थियो । कार्यक्रममा सोनिया श्रेष्ठ, ज्योति ढुंगाना, कन्चन ढुंगाना लगायतका कलाकारहरुले आआफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा कोलन क्षेत्रका मेयर आन्द्रीयास वल्टर्स, प्रोफेशर गुण्टर नोगे, डा कार्लेश हेम्स क्रेमर, मार्टिन मडर, प्रल्हाद थापा, गैरआवासीय नेपाली संघका संस्थापक चिरन्जीबी ढकाल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा जर्मनीस्थित विभिन्न प्राज्ञिक तथा व्यावसायिक क्षेत्रका विज्ञ तथा जर्मनीमा वसोवास गर्ने नेपाली तथा नेपालमा माया गर्ने जर्मनहरुको कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ जर्मनीका पूर्वअध्यक्ष दिल गुरुङ, गैरआवासीय नेपाली अभियान्ताहरु कृष्ण भट्ट, रामशरण सिमखडा, विष्णुमाया परियार, लगायत स्थानिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।