१४ असार २०८१, बिहीबार
Follow Us

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०८१, शुक्रबार १९:१७

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई बिहिबार ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका २ घर भइ हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय विशाल रैका, कालिकोटको सान्नीत्रिवेणी गाँउपालिका ६ घर भइ काठमाडौंको कपन बस्दै आएका २६ वर्षीय नविन शाही, सान्नीत्रिवेणी गाँउपालिका ५ घर भइ हाल कपन बस्ने ३० वर्षीय रमेश बम र कालिकोटकै रास्कोट नगरपालिका ५ घर भई हाल काठमाडौंको नयाँबानेश्‍वर बस्ने २५ वर्षीय मुकुन्द शाहीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

वास्तविक नम्बर परिवर्तन गरी लु ६८ प ०९ ४३ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित काठ्माडौंको पद्मोदयमोडबाट विशाललाई हिजो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा आएका विशाललाई सोधपुछ गर्दा उक्त मोटरसाईकल नविनले दिएको बताएका थिए । नविनको खोजि गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी से ५ प ८० ३८ नम्बर राखी चलाइरहेको अवस्थामा चालक रमेश सहित पछाडी सवार नविनलाई समेत काठमाडौंको भृकुटी मण्डपबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा आएका उनिहरुलाई सोधपुछ गर्ने क्रममा आफुहरुलाई ०९ ४३  मोटरसाइकल मुकुन्दले दिएको बताए पश्‍चात मुकुन्द समेत काठ्माडौंको बानेश्‍वर खरिवोटमा हिजै फेला परेका थिए ।   

नियन्त्रणमा आएका चारै जनालाई अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त नयाँबानेश्‍वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । 

विशालले चलाएको ०९ ४३ नम्वरको मोटरसाइकल वास्तविक नम्बर मधेस प्रदेश ०३-०२५ प ७७ ९६ नम्बरको मोटरसाइकल काठमाडौंको काँडाघारीबाट हराएको र रमेशले चलाएको ८० ३८ नम्वरको मोटरसाइकल वास्तविक नम्बर बाग्मती प्रदेश ०२-०३४ प ८१ ४५ नम्बरको मोटरसाइकल ललितपुरबाट हराएको भनि पिडितले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । 

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता श्रेष्ठले सम्पूर्णमा अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग हुनुपर्ने छ । 

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।