१४ असार २०८१, बिहीबार
Follow Us

काठमाडौँ महानगरले ‘वुमन अफ द वर्ल्ड’ फेस्टिभल आयोजना गर्छ- उपप्रमुख डंगोल

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०८१, आईतवार १४:३५

काठमाडौँ । वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज स्वदेश फर्किएकी छन् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले, आउँदो नोभेम्बर महिनामा काठमाडौँले व्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताइन् ।

‘विश्वका महिलाहरुको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर प्राप्त भयो । वास्तवमा यो अपूर्व अवसर थियो ।’ डंगोलले भनिन, ‘अवस्थालाई अवसरमा रुपान्तरण गरिएका कथाहरु हाम्रा लागि सिकाइ बनेका छन् । यो सिकाइलाई हामी महिलाहरुको सार्थक र सक्रिय सशक्तिकरणका लागि उपयोग गर्छौँ ।’

सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका विश्वस्तरका वक्ताहरुलाई आमन्त्रण गरिएको थियो । राजनीति क्षेत्रको प्रतिनिधित्व गर्दै अष्ट्रेलियाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विचार राखेकी थिइन् । फेस्टिभलको संवाद सत्रमा उनीहरुलाई ‘वुमन अफ द वल्र्ड’ अभियानकी संस्थापक जुड केलीले संवाद गरेकी थिइन् । 

संवादमा महिलाहरुका परिस्थिति र प्रतिकुलताबाट उठ्नका लागि गर्न सकिने सहभागितामूलक कामका विषय समेटिएका थिए । संवादमा उपप्रमुख डंगोलले, नेपाली राजनीतिमा महिलाहरुको सहभागिता बढ्दै गएको बताएकी थिइन् । 

सम्मेलनपछि विभिन्न द ब्रिटिस एकेडेमी, ब्रुनल युनिभर्सिटी, रोयल जिओग्राफिकल सोसाइटीसहित विभिन्न संघसंस्थाले आयोजना गरेको ‘इन्डिजिनाइजिङ् द हिमालयज’ कार्यक्रममा सहभागी हुनुभयो । नेपालका हिमाली क्षेत्रका तस्विर देखेर बनाइएका गलत धारणा र प्रचारलाई सुधार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै उहाँले नेपाली संस्कृतिको उचाइलाई घट्न नदिन सबै प्रकारका प्रयासहरु गरिरहनु पर्ने बताइन् । यस क्रममा अक्सफोर्ड विश्वविद्यालयमा ‘सहरीकरणको अभ्यास ः अवस्था र आवश्यकता’ विषयमा काठमाडौँको प्राचीनता जोगाउन र आधुनिक आवश्यकता पूरा गर्न महानगरपालिकाले गरेको प्रयासका बारेमा प्रस्तुतिकरण गरेकी थिइन् । 

लण्डनस्थित वेलायतका लागि नेपालको राजदूताबासले आयोजना गरेको नेपाली समुदायको अन्तरक्रियात्मक कार्यक्रममा सहरी विकास र व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले गरिरहेका प्रयास र राष्ट्रिय अन्तरराष्ट्रिय सम्बन्धका विषयमा कुराकानी भएको थियो । 

व्रिटिस काउन्सिलको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन जेठ ९ गते प्रस्थान गरेकी थिइन् । मेनचेष्टर सहरको अभोभा स्टुडियोमा जेठ ११ सुरु फेस्टिभल सुरु भएको थियो । फेस्टिभलमा सहभागी हुन उनीसँग वडा सदस्य श्रृष्टि कंसाकार, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई, महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान गएकी थिइन् । 

स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका महिलाहरुका बिच अन्तरक्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक बर्ष आयोजना हुने गरेको छ । यो सन् २०११ मा लण्डनको साउथ वैङ्कबाट सुरु भएको हो । यसअघिका कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसका छन् । लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो । 

हाल सम्म विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाख भन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् ।