१४ असार २०८१, बिहीबार
Follow Us

सहकारी पीडितले देखाए प्रधानमन्त्रीलाई कालो झण्डा

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०८१, बुधबार १३:१६

पोखरा । सहकारी पीडितले पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाएका छन् ।

कार्यकर्ता प्रशिक्षणका लागि जाँदै गर्दा प्रधानमन्त्रीको विरोधमा बुधबार सहकारी पीडितले पोखरा सभागृह अगाडि कालो झण्डा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्रीको विरोधमा कालो झण्डा देखाउने कार्यमा संलग्नमाथि प्रहरीले हस्तक्षेप गरेको छ । आफूहरुका मागबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएकाले विरोधमा उत्रनुपरेको सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।

त्यस क्रममा पुरुष प्रहरीले प्रदर्शनमा सहभागी महिलाहरुमाथि लात्ती प्रहार गरेको आरोप लगाए । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको करोडौं रकम गोरखा मिडिया प्रालिले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनमा लगानी भएको छ ।

उक्त टेलिभिजनका प्रबन्ध निर्देशक रवि लामिछाने हाल उपप्रधान तथा गृहमन्त्री छन् । पोखराका सहकारी पीडितले लामिछानेमाथि छानबिन गरी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको भए पनि अनुसन्धान अघि बढेको छैन ।

संघर्ष समितिले विज्ञप्तिमार्फत प्रदर्शनस्थलबाट पक्राउ गरिएका सहकारी पीडितलाई तत्काल निसर्त रिहा गर्न तथा घाइतेको उपचार गर्न माग गरेका छन् ।

तर, प्रहरीले भने प्रदर्शनकारीले आरोप लगाएजस्तो कुनै दुव्र्यवहार नभएको दाबी गरेको छ । कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले शान्ति सुरक्षा कायम गर्ने क्रममा सामान्य बल प्रयोग गरिएको बताए । उनका अनुसार त्यस क्रममा ११ जनालाई नियन्त्रणमा लिइएको छ ।