१४ असार २०८१, बिहीबार
Follow Us

एशिया ट्राभल एशोसिएसन (पाटा) को उपाध्यक्षमा पाण्डे निर्वाचित

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०८१, शुक्रबार १८:४८

लण्डन । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) अन्तराष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा सुमन विक्रम पाण्डे निर्वाचित भएका छन् ।

उनी एक्प्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरको अध्यक्ष समेत हुन् ।

गत मार्च महिना सम्पन्न निर्वाचन प्रक्रियामा पाण्डेका प्रतिस्पर्धी अमेरिकन गुवाम का जेराल्ड पेरेजले आफ्नो मनोनयन फिर्ता दिए पछि उनी निर्विरोध भएका हुन् ।

पाटाको शुक्रवार बसेको साधारणसभाले नयाँ कार्यसमितिको अनुमोदन गरेको छ । सन् १९७५ देखि सदस्य रहँदै आएको नेपालले पहिलो पटक उपाध्यक्षको जिम्मेवारी पाएको हो ।

सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापित भै सं १९९८ देखि बैङ्ककमा मुख्यालय रहेको पाटाले एशिया तथा प्रशान्त क्षेत्रका लागि काम गर्दै आएको छ ।

पाटा पर्यटकीय आदान प्रदान, व्यापार विस्तारको क्षेत्रमा आफ्ना सदस्य राष्ट्रहरुका साथ सहयोग तथा सहकार्य संलग्न छ।

३५ वर्ष लामो व्यवसायिक जीवन विताएका पाण्डेको ट्रेकिङ, ट्राभल, हेलिकप्टर, वायुसेवा, होटल, रेस्टुरेन्ट लगायत क्षेत्रमा लगानी रहेको छ ।

पाण्डे ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टानं) का अध्यक्ष, नेपाल पर्यटन बोर्डका सदस्य, एरलाइन् अपरेटर एशोसिएसन अफ नेपालका महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य, पाटा नेपाल च्याप्टर का अध्यक्ष समेत हुन् ।

सन् २००८ मा नेपालमा स्काई डाइभिङ्को शुरुवात, नेपालका उच्च हिमाली क्षेत्रमा हेलिकप्टर उडान तथा रेस्क्यु प्रविधिको शुरुवात र पाण्डेकै नेतृत्वमा सन् २०१७ मा प्रथम हिमालयन ट्राभल मार्ट जस्तो अन्तराष्ट्रिय पर्यटन मेला भएको थियो ।

पाटा को सन् २०२६ सम्म कार्यकाल रहने नौ सदस्यीय कार्यसमितिको अध्यक्षमा पिटर सिमोन (डेसटीनेशन ह्युमन क्यापिटल, टीमोर लिस्टे, इण्डोनेशिया), सचिव/कोषाध्यक्षमा, एशियन ट्रैलस– थाइल्यान्ड निर्विरोध भए । यस्तै सदस्यहरुमा बेन मोनटगोमरी, सेन्टारा होटेल्स एण्ड रिसोर्ट, थाइल्यान्ड, सञ्जित जैन– डी पी पी प्रकाशन, भारत, मयूर पटेल – ओएजी एभिएसन, सिंगापुर चयन भए ।