२९ असार २०८२, आईतवार
Follow Us

क्याट यूकेको च्यारिटी २८ जुलाईमा, फायर वाक हुने

नेपालब्रिटेन डट कम्
३ असार २०८१, आईतवार १९:०६


‘५ समाजसेवी सम्मानित हुने ‘

लन्डन । क्याट यूकेले एक च्यारिटी कार्यक्रममा फायर वाक (आगोमा हिंड्ने) अवसर जुटाउने भएको छ ।

चितवनका असहाय बालबालिकाको सहयोगार्थ आउंदो २८ जुलाई साँझ हुने च्यारिटी डिनर कार्यक्रममो मुख्य आकर्षण आगोमा हिंड्ने कार्यक्रम हुने आयोजकले जनाएको छ ।

आइतबार नर्थ ह्यारोस्थित सरस रेस्टुरेन्टमा एक पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक कृष्ण गुरुङले च्यारिटी इभेन्टमा सांस्कृतिक कार्यक्रम र चितवनबाट बेलायत आएर समाजमा विशेष योगदान गर्ने ५ जना व्यक्तित्वलाई सम्मान गरिने जानकारी दिए ।

ब्लु रुम स्पोर्टस् भेन्यू ह्यारोमा हुने कार्यक्रमको प्रवेश शुल्क डिनरसहित ३५ पाउण्ड तोकिएको छ । अण्डर ५ का लागि प्रवेश निशुल्क हुनेछ ।

फायर वाक इन्सट्रक्टर समेत रहेका संयोजक गुरुङले डायष्पोरामा फायर वाक अवसर प्रदान गर्न फायर वाक यूके कम्पनीको सहकार्यमा यस्तो इभेन्ट गर्न लागिएको जनाए । उनका अनुसार आउट डोरमा हुने उक्त फायर वाकका लागि ‘हेल्थ एण्ड सेफ्टी’ मापदण्ड पुरा र इन्सुरेन्स समेत गरिएको छ ।

पत्रकार सम्मेलनमा क्याटयूकेका अध्यक्ष कृष्ण तिवारीले बालबालिकाको सहगोगमा हुन लागेको च्यारिटीमा सहभागी भइदिन सबैमा आग्रह गरे । उनले सो अवसरमा नेपालका राष्ट्रियस्तरका कलाकारको समेत प्रस्तुति रहने बताए ।

कार्यक्रममा ट्रष्टी यादव श्रेष्ठले सन् २००४ मा स्थापित चितवन एड ट्रष्ट यूकेले गरेका गतिविधिबारे जानकारी दिएका थिए ।

पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार भगिरथ योगीले संस्थाले विगत दुई दशकदेखि गरेको सामाजिक कार्य प्रशंसनीय रहेको बताउंदै शुभकामना दिए ।

सम्मानको संयोजन गरिरहेका ट्रष्टी टिका पौडेलले यसको क्राइटेरिया र क्षेत्रबारे बताउंदै ५ सदस्यीय छनोट समितिले सम्मानका लागि काम गरिरहेको अवगत गराए ।

पूर्व अध्यक्ष लोक गुरुङले सहभागिताका लागि सबैप्रति धन्यवाद दिंदै क्याट यूके स्थापनाको उद्देश्य र गतिविधिबारे संक्षिप्त रुपमा बताएका थिए ।

पत्रकार सम्मेलनमा ट्रष्टीहरु टिका पौडेल, कृष्ण गुरुङ, यादव श्रेष्ठ, वसन्त श्रेष्ठ, राजु आचार्य, दीपेन्द्र अधिकारी, सल्लाहकार कमल पौडेल लगायतको सहभागिता थियो ।
चितवन एड ट्रष्ट यूके बेलायतको च्यारिटी कमिसनमा दर्ता रहेको छ ।

धेरै पढिएको