१५ असार २०८१, शुक्रबार
Follow Us

चिकित्सा शिक्षा आयोगमा ४ निर्देशक नियुक्त

नेपालब्रिटेन संवाददाता
११ असार २०८१, सोमबार १४:३०

काठमाडौँ । चिकित्सा शिक्षा आयोगमा सोमबार ४ निर्देशक नियुक्त भएका छन् । सिफारिस समितिले गरेको सिफारिसको आधारमा प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य र प्रा.डा. सरला श्रेष्ठलाई निर्देशक नियुक्त गरिएको आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले जनाए ।

आयोगमा मापदण्ड तथा प्रत्यायन, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन, परीक्षा र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज निर्देशनालय रहने व्यवस्था छ । खनाललाई नेसनल बोर्ड, मरहट्टालाई योजना, आचार्यलाई मापदण्ड र श्रेष्ठलाई परीक्षा निर्देशनालयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार सिफारिस समितिले गरेको सिफारिसका आधारमा आयोगका उपाध्यक्ष अञ्जनीकुमार झाले निर्देशक नियुक्त गरेका हुन् ।

आयोगमा ९ महिनादेखि निर्देशक पद रिक्त थियो । सरकारले निर्देशक नियुक्तिका लागि गत कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सिफारिस समितिले गरेको विज्ञापनमा निर्देशक बन्ने प्रतिस्पर्धामा २० ज्नाले आवेदन दिएका थिए । त्यसमध्ये १२ जनाको नामा मात्र सर्ट लिस्टमा परेको थियो । त्यसमा असन्तुष्टि जनाउँदै उच्च अदालत पाटनमा रिट परेको थियो ।

अदालतले प्रस्तुतीकरण, अन्तर्वार्ता, परीक्षाफल प्रकाशन र नियुक्तिलगायतका कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश दिएपछि प्रक्रिया रोकिएको थियो । उच्च अदालतले जेठ १३ गते रिट निवेदन खारेज हुने ठहर गरेपछि नियुक्ति प्रक्रिया अघि बढाइएको थियो ।

सर्ट लिस्टमा परेका १२ जनाको प्रस्तुतीकरण, अन्तर्वार्ता लिएर समितिले सिफारिस गरेको हो । समितिले शनिबार चार वर्षे व्यावसायिक कार्ययोजना, सोचपत्रको मूल्याङ्कन गरी नियुक्तिका लागि ४ जनाको नाम सिफारिस गरेको थियो ।