१६ असार २०८१, शनिबार
Follow Us

टी–२० विश्वकप क्रिकेट: भारत र इंग्ल्याण्ड आज फाइनलको लागि प्रतिस्पर्धा गर्दै

नेपालब्रिटेन संवाददाता
१४ असार २०८१, बिहीबार ०६:०७

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने खेलमा भारत र इंग्ल्याण्ड आमने सामने हुने छन् ।

पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ । आज राति हुने दोस्रो खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।

टी–२० विश्वकप २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । जोस बटलर र एलेक्स सेल्सको कप्तानीमा रहेको इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई लज्जास्पद हार चखाएको थियो । टस जितेर ब्याटिङ गरेको भारतले १६९ रनको लक्ष्य दिएको थियो ।

इंग्ल्याण्डले १६ ओभरमै लक्ष्य पुरा गरेको थियो । २०२२ को बदला लिनका लागि भारतलाई आज मौका रहेको छ । अहिले भारतको टोलीले विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ ।

टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारतीय टोली अष्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा पुगेको हो । भारत यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ र समूह चरणपछि सुपर एटमा पनि शीर्ष स्थानमा रहेर फाइनल खेल्दै छ ।

उता इंग्ल्याण्डले अमेरिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । यसअघि पनि २०२२ मा दुवै टोली अन्तिम चारमा आमनेसामने भएका थिए जहाँ इंग्ल्याण्डको टोली जित दर्ता गर्न सफल भएको थियो ।