१७ असार २०८१, आईतवार
Follow Us

युरोपेली देश भ्रमण सकेर अमेरिका फर्किए मुक्तकमणि अधिकारी

नेपालब्रिटेन डट कम्
१५ असार २०८१, शुक्रबार ०८:५५

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टी सल्लाहकार मुक्तकमणि तीर्थराज अधिकारी आफ्नी जीवनसंगिनी सिता अधिकारीका साथ दश दिनको युरोपेली देश भ्रमण सकेर अमेरिका फर्किएका छन् ।

गत जुन १५ देखि २४ जुन २०२४ सम्म युरोपको साहित्यिक भ्रमणका क्रममा मुक्तकमणि अधिकारीलाई एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम च्याप्टरले सम्मान गरयो ।

उक्त अवसरमा उनले दर्जनौं मुक्तक सुनाए । उनले सम्बोधनका क्रममा भने, ‘संवेदना स्वदेश तथा परदेशमा समान हुन्छ, नेपालीहरुले विदेशमा संगालेका अनुभवहरु अक्षरमा उतारेका हुन्छन् ।’

नेपालीहरु जहाँ जहाँ पुग्छन् त्याहा आफ्नो संस्कार र संस्कृति पनि सँगै लगेका उनले बताए । अधिकारीले युरोप भ्रमणबाट आफू मन मुग्ध भएको बताएका छन् ।

‘यहाँको हरियालीमा चरी रमाउँछ
वसन्त पनि घरीघरी रमाउँछ
कति संजीवनी बोक्छस् ए प्रकृति
कवि त झन् मनभरि रमाउँछ’

संसारको दोस्रो धनी देश लक्जम्बरको प्राकृतिक छटा देखेर मन मुग्ध भएका कवि अधिकारी मुक्तकमा यसरी अभिव्यक्त हुन्छन्।

उनले गत जुन १५ का दिन बेल्जियम पुगेर त्यही दिन जर्मनीको Aachen city अवलोकन साथै जर्मन संस्कार र संस्कृतिबारे स्थानीयसंग कुराकानी गरेका थिए । कवि अधिकारी वि.सं. २०२८ देखि २०३२ सम्म गण्डकी अञ्चल कृषि विकास आयोजना खैरेनीटारमा कार्यरत थिए जसलाई जर्मन प्रोजेक्ट पनि भनिन्थ्यो ।

अधिकारी दम्पत्ति जुन १६ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको स्वागत कार्यक्रममा सहभागी भएका थिए । यसबाहेक बेल्जियममा रहेका नेपाली समुदायसंग भेटघाट तथा विशेष जानकारी पनि लिएका थिए ।

बेल्जियममा साहित्यकार अधिकारी दम्पत्तिलाई पत्रकारहरु डिल्ली अम्गाईं, पञ्चम अधिकारी, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष भोज जिसी, सुशील न्यौपाने लगायतले विशेष आतिथ्य प्रदान गरेका थिए ।

उनीहरुले त्यही दिन पानी मुनीको शहर आम्सटर्डम, हल्याण्ड भ्रमण गरे भने जुन १७ र १८ मा पेरिस पुगेर आइफेल टावर आदि अवलोकन गरेको अधिकारीले जनाए ।
उनीहरुले जुन १९ र २० मा युरोपियन पार्लियामेन्ट र मिनी युरो ब्रसेल्स शहर अवलोकन गरे भने जुन २१ देखि २३ सम्म लक्जम्वर्ग र स्वीट्जरल्याण्ड भ्रमण गरेका थिए ।

जर्मनी भ्रमण गर्दा जर्मन साहित्य (Deutschspraching Leiteratur) बारे स्थानीय वासिन्दासंग छोटो कुराकानी गरेको अधिकारीले बताए ।

त्यसैगरि, स्वीट्जरल्याण्डमा स्वीस महासंघकोबारेमा गहिरो चाख तथा जानकारी लिएका थिए । अधिकारी कुनै बेला स्वीस प्रोजेक्ट जिरीमा पनि संलग्न थिए ।

अधिकारी युरोपमा समेत नेपाली साहित्य हराभरा हुंदै गएको आफूले पाएको बताउंछन् ।