२५ असार २०८१, सोमबार
Follow Us

मनसुनजन्य विपद्का कारण २५ दिनमै ५७ जनाको मृत्यु, तीन जना बेपत्ता

नेपालब्रिटेन संवाददाता
२२ असार २०८१, शुक्रबार ०५:५९

काठमाडौं । मनसुन सुरु भएयता विभिन्न भूभागमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, जनावर आक्रमणलगायत विपत्बाट ५७ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् ।

यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको हो । त्यसयता एक सय जना घाइते र एक हजार २३ घरपरिवार प्रभावित बन्न पुगेका छन् । २० करोड ७३ लाख बराबरको अनुमानित आर्थिक क्षति भएको छ ।

अबको केही दिन मनसुनी प्रभाव पूर्वदेखि सुदूरपश्चिमसम्म अझ बढ्ने सम्भावना छ । विगत २४ घण्टामा मात्र देशका विभिन्न भूभागमा २९ वटा पहिरो गएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मध्य तथा सुदूरपश्चिसम्मको भूभागमा मुसलधारेसम्म वर्षा हुने पूर्वानुमान गरेसँगै बाढी पहिरोसहितका विपत्को जोखिम थप उच्च बनेको छ ।

तत्काल मौसममा सुधार हुने अवस्था नरहेको बताईएको छ । त्यसैले सतर्क रहन पनि सबैमा आग्रह गरिएको छ । यसैबीच गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा हिजो ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उहाले सो निर्देशन दिएका हुन् ।