७ श्रावण २०८१, सोमबार
Follow Us

‘बस्ती जलमग्न, डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’

नेपालब्रिटेन संवाददाता
२६ असार २०८१, मंगलवार ०५:२८

कैलाली । लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् ।

विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।

भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय १३ परिवार विस्थापित भएका छन् भने चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिए ।

“विस्थापितहरू खाद्यान्न आफ्नै घरबाट ल्याएर खाने गरेका छन्, पालिकाले यति धेरै नागरिकलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन”, उनले भने, ‘‘पालिकाले एक हजार आठ सय बोतल पानी वितरण गरेको छ ।”

बाढीले भजनीमा अधिकांश सडकलाई क्षति पुर्‍याएका छन् । भजनीमा खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको प्रमुख न्यौपानेले बताए । जलसतह नघटेकाले डुबानमा परेका घरमा के–कति क्षति भयो भन्ने विवरण आउन नसकेको नगरप्रमुख केवल चौधरीले जानकारी दिए ।

“भजनी तहसनहस भएको छ, मानिस विस्थापित भएको मात्र होइन”, उनले भने, “खेतीपाती, पशुपालन तथा अन्य व्यवसायमा समेत क्षति भएको छ । मानिसका घर डुबानमा परेपछि सरसामान सबै भिजेका छन् ।”