लन्डन । बेलायतको बाथमा आयोजित ६५ औं अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । १०८ देशका ६०९ जना विद्यार्थी सम्मिलित उक्त प्रतिस्पर्धामा नेपालका कृतेश ढकाल र श्रेयस शर्मा बास्तोलाले एक-एक वटा अनरेबल मेन्सन (एचएम) दिलाएका हुन् ।
गणित ओलम्पियाडमा नेपालका ६ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धी अन्य विद्यार्थीमा सौगात ढकाल, राहुल भुजेल, द्रोण चौधरी र सम्पन्न भण्डारी रहेको नेपालका टिम लिडर तथा नेपाल गणित संघका महासचिव छवि ढुंगानाले कान्तिपुरलाई जानकारी दिए ।
नेपाल गणित संघले तीन हजार बढी विद्यार्थीमध्ये विभिन्न चरणका छनोटबाट ६ जना विद्यार्थी छानेको थियो । विद्यार्थीका साथ टिमका डेपुटी लिडर नारायण पौडेल, प्रशिक्षक प्रजित अधिकारी र टिम संयोजक तथा संस्थाका उपाध्यक्ष हरि प्रपन्न कँडेल पनि बेलायत आएका थिए ।
जुलाई ११ देखि २२ जुलाईसम्म हुने प्रतियोगिता संसारकै ठूलो शैक्षिक प्रतियोगिता मानिन्छ । सन् १९५९ देखि रोमानियाबाट सुरु भएको उक्त प्रतिस्पर्धा हरेक वर्ष जुलाईमा आयोजना हुने गर्छ । सन् २०१७ मा ब्राजिलमा सम्पन्न ५८ औं प्रतियोगिताबाट नेपालले हरेक वर्ष सहभागिता जनाउँदै आएको छ ।
संसारभरका २० वर्षमुनिका विद्यार्थीबीच हुने उक्त प्रतियोगिताको ६६ औं संस्करण आगामी वर्ष जुलाईमा अस्ट्रेलियामा हुने तय भएको छ ।