लन्डन । जीआईएनआई लन्डनका मुख्य प्रायोजकका रूपमा लर्ड्स एन्ड कमन्स क्रिकेट क्लबको प्रतिनिधित्व गर्दै विन्डसर क्यासलस्थित विन्डसर होम पार्कको फ्रगमोरमा रोयल हाउसहोल्ड क्रिकेट क्लबसँग भएको क्रिकेट खेलमा सहभागी हुन पाउनु आफ्ना लागि अत्यन्त सम्मानको विषय भएको रवीन्द्रजंग लामिछानेले बताएका छन्।
लामिछानेका अनुसार परम्परागत गार्डेन पार्टीको वातावरणमा सम्पन्न उक्त कार्यक्रम अत्यन्त स्मरणीय रह्यो। उनले दुवै टोलीका खेलाडी तथा सदस्यहरूसँग भेटघाट र संवाद गर्ने अवसरलाई आफूले निकै विनम्र र विशेष अनुभवका रूपमा लिएको बताएका छन्।
बेलायती राजपरिवारप्रति लामो समयदेखि गहिरो सम्मान र प्रशंसा राख्दै आएका लामिछानेले उक्त अवसर आफ्ना लागि व्यक्तिगत रूपमा समेत महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। उनले दिवंगत महारानी एलिजाबेथ द्वितीयप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न १३ घण्टासम्म लाममा बसेको क्षण स्मरण गर्दै त्यसलाई जीवनभर सम्झिरहने श्रद्धाको क्षणका रूपमा वर्णन गरेका छन्।
त्यसैगरी, फेब्रुअरी २०२५ मा बेलायती राजपरिवारको नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डलको सदस्यका रूपमा सहभागी हुन पाउनु पनि आफ्नो जीवनको ठूलो सौभाग्य भएको लामिछानेले बताएका छन्।
कार्यक्रमका आयोजकप्रति आभार व्यक्त गर्दै लामिछानेले भव्य कार्यक्रम आयोजना गर्नुका साथै न्यानो आतिथ्य प्रदान गरेकोमा धन्यवाद दिएका छन्।
उनले जीआईएनआई लन्डनले आगामी दिनमा पनि खेलकुद, संस्कृति तथा सम्पदाको प्रवर्द्धन र उत्सवलाई निरन्तरता दिँदै विभिन्न सहकार्य गर्ने बताएका छन्।
