काठमाडौं । कांग्रेसकी सांसद सुशिला थिङले संविधानअनुसार ३३ प्रतिशत महिला मन्त्री हुनुपर्नेमा त्यो व्यवस्था लागू नभएको भन्दै संविधान कहिले लागू गर्ने हो भनेर प्रश्न उठाएकी छन ।
आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उनले यस्तो बताएकी हुन । उनले संविधान अनुसार ३३ प्रतिशत महिला मन्त्री हुनुपर्ने व्यवस्था कहिलेदेखि लागू हुने हो भनेर प्रश्न गरेकी छन ।
उनले भनिन्, ‘कहिल्यै पनि ३३ प्रतिशत महिला क्याबिनेटमा देख्न नपाइने भो सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस नै हुँदैनन्, ‘मेरो उदाहरण प्रतिनिधि पात्र मात्र हो । म कानुनमा स्नातक गरेकी छु, सोसोलोजीमा स्नातकोत्तर गरेकी छु तर म कहिल्यै मन्त्री बन्न योग्य भइनँ ।’
उनले आफूले समानुपातिक कोटाबाट उपाधि नपाएको भन्दै महिलाहरू कहिलेसम्म यो समानुपातिक दर्जामा दर्ज हुनुपर्ने हो भनेर प्रश्न गरिन् । ‘हामीलाई कहिले समान बनाउने हो ? संविधानमाथि उठेको प्रश्न भएकाले मैले संविधान लागू होस भनेको मात्र हो, उनले भनिन् ।