१५ श्रावण २०८२, बिहीबार
Follow Us

१० वर्षमा संविधान सुधार गर्नुपर्छ भन्ने बिर्सनु भयो : डा. शेखर

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०८१, मंगलवार १३:४९

काठमाडौं । कांग्रेस सांसद डा. शेखर कोइरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको दाबी गरेका छन ।

आज मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । सांसद कोइरालाले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको पनि बताएका छन ।

उनले संविधान के—के कुरामा सुधार गर्ने भन्नेबारेमा भने छलफल गर्न आवश्यक रहेको बताएका छन । उनले कांग्रेस र एमाले मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको भन्दै खुसी प्रकट गरेका छन ।

उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्न जरुरी रहेको पनि बताएका छन । सांसद कोइरालाले कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले खादा, माला र स्वागतमै समय बिताइरहेको बताएका छन ।

आफूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई काममा ध्यान दिन आग्रह गरेको पनि उनले बताएका छन । सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट नरहेको उनले बताएका छन ।

उनले सरकारले जनतामा रहेको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताए । उनले राष्ट्रलाई प्राथमिकता राखेर जनतामा आशा जगाउँदै आर्थिक विकासमा फड्को मार्नुपर्ने बताएका छन ।

सांसद कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन हुनुपर्ने, निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने, समावेशीलाई कुनै आघात नपुग्ने गरी अघि बढ्नुपर्ने बताएका छन ।

धेरै पढिएको