२० आश्विन २०८१, आईतवार
Follow Us

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या १ सय २५ पुग्यो

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०८१, सोमबार ०६:२३

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठुलो वासस्थान मान्ने गरिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ ।

जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिएका छन । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना भने न्यून छ ।

‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदै छ । अधिकृत वाग्लेले बाघलगायत वन्यजन्तु बृद्धिसँगै यिनीहरूको वासस्थान व्यवस्थापन, समुदायमा सचेतना, मानव वन्यजन्तुबिच द्वन्द्व रोक्न विद्युतीय तारबार, कङ्क्रिट पर्खाललगायत पूर्वाधारसँगसँगै व्यवस्थापनमा जोड दिइराखेको बताए ।

वनजङ्गलको संरक्षण भएपछि बर्दियामा उल्लेख्य मात्रामा बाघको सङ्ख्या बढेसँगै खाता जैविकमार्ग एवं वन क्षेत्रमा बाघको विचरण पनि बढेको छ । गत वर्ष वनक्षेत्रमा बाघ र चितुवाको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत टङ्क गुरुङले जानकारी दिएका छन । बाघबाट वनक्षेत्रमा मानवीय क्षतिको परिमाण बढ्दै गएको छ ।