लण्डन । बेलायतस्थित नेकपा एमाले निकट प्रबासी नेपाली मंच (ओएनएफ) यूकेले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय आङ्गकल जंग लामाको सम्मानमा श्रद्धान्जली सभा गर्ने भएको छ ।
आगामी आइतबार ४ अगस्टमा नर्थ ह्यारोस्थित नर्थ ह्यारो होम गार्ड क्लवमा गर्न लागिएको श्रद्धान्जली सभामा उपस्थित भई स्वर्गीय लामा प्रति सम्मान व्यक्त गर्न बेलायतवासी जनसमुदायलाई ओएनएफ यूकेले आव्हान गरेको हो ।
गतसाता अनलाईन माध्यमबाट जुममा बसेको बैठकले स्वर्गीय लामाकी पत्नीसँग सरसल्लाह गरी उक्त श्रद्धान्जली सभा आयोजना गरिएको अ्रध्यक्ष तुंगभद्र भुसालले बताए । भुसालकै अध्यक्षतामा बसेको ओएनएफ यूकेको जुम बैठकले लामाको अन्तिम इच्छा अनुसार उनले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गर्ने निर्णय समेत गरेको छ ।
एमाले पूर्वसांसद तथा केन्द्रीय सदस्य डा. सुर्य पाठकको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पार्टी बिशेष भन्दा पनि साझा कार्यक्रमका रुपमा लिएर श्रद्धान्जलीमा उपस्थित हुन ओएनएफ यूके अध्यक्ष भुसालले डायस्पोराका नेपालीलाई आग्रह गरेका छन ।
बेलायतस्थित नेपालीहरुको एक मात्र पुरानो संस्था यति नेपाली एसोसियसन, गैरआवासीय नेपाली संघ यूकेलगायतका एक दर्जन संघ संस्थामा उल्लेख्य योगदान गरेका लामा पुराना इमान्दार अभियन्ताका रुपमा बेलायती नेपाली समाजमा परिचित थिए । उनका परिवार हाल बेलायतमै छन् ।
लामाको नेपाल भ्रमणमा गएका बेला गत १४ मे २०२४ मा हृदयाघातका कारण असामायिक निधन भएको थियो ।