लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्यान्ड राज्य समन्वय परिषदले बेलायतमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
विहीबार परिषदकी सचिव अन्जु कुंवरले काठमाडौंस्थित शिक्षा मन्त्रालय पुगेर शिक्षामन्त्री विद्या भट्टराईलाई परिषदका तर्फबाट सुझावसहितको एक ज्ञापनपत्र बुझाएको परिषदका अध्यक्ष शम्भुप्रसाद अर्यालले जानकारी दिए ।
परिषदले बेलायतमा अध्ययन पूरा गरी नेपाल फर्कन इच्छुक विद्यार्थीलाई आवश्यक वातावरण तथा प्रोत्साहन र नीतिगत सहायताको व्यवस्था गर्न समेत सरकारलाई समक्ष आग्रह गरेको छ ।
परिषदका अध्यक्ष शम्भुप्रसाद अर्याल र सचिव कुंवरले हस्ताक्षर गरेको ज्ञापनपत्रमा विभिन्न ५ बुंदामा ज्ञापनपत्रमा अध्ययनका लागि बेलायत आउने नेपाली विद्यार्थीका लागि सही र वास्तविक सूचना दिलाउन आवश्यक नीति बनाउन नेपाल सरकारलाई आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री भट्टराईले बेलायतमा रहेका हजारौं नपाली विद्यार्थीले भोगेका समस्याबारे जानकारी गराएकोमा एनआरएनए इंग्ल्यान्डलाई धन्यवाद दिंदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएकी थिइन् ।