काठमाडौँ । पोर्चुगलमा घुम्ती सेवामार्फत ३ हजार ८ सय २९ जना नेपालीहरूले राहदानी नवीकरण गराएका छन् । राहदानी विभाग र पेरिसस्थित नेपाली राजदूतावासद्वारा पोर्चुगलको राजधानी लिस्बनमा अगस्ट २ देखि अगस्ट १३ सम्म राहदानी नवीकरण घुम्ती सेवा आयोजना गरिएको थियो ।
घुम्ती सेवाबाट सेवा लिनेमा १२१ जना नाबालक, ३३८० नवीकरण र हराएका ३२८ जना रहेका छन् । राहदानी सेवा सञ्चालनबाट ४ लाख ९१ हजार ५८० युरो अर्थात् ७ करोड २० लाख ११ हजार ५५४ नेपाली रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको राजदूतावासले जानकारी दिएको छ ।
घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी थिए । यस सेवाको व्यवस्थापन गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो भने पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले आआफ्नो स्थानबाट विभिन्न भूमिकामा सहयोग गरेका थिए।
हाल पोर्चुगलमा ५० हजारभन्दा बढी नेपालीहरूको बसोबास रहेको छ ।
७ करोड राजस्व सङ्कलन
विद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउन पोर्चुगलबाट तीन हजार आठ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको राहदानीसम्बन्धी घुम्ती शिविरबाट रु सात करोड २० लाख ११ हजार पाँच सय ५४ राजस्व सङ्कलन भएको छ ।
विभागका निर्देशक मोतीबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो । पोर्चुगलमा नेपाली दूतावास नभकाले शिविर सञ्चालन गरिएको हो ।