१७ श्रावण २०८२, शनिबार
Follow Us

कारबाही गर्न गृहमन्त्रीद्वारा प्रहरी महानिरीक्षकलाई निर्देशन

नेपालब्रिटेन संवाददाता
३२ श्रावण २०८१, शुक्रबार ०५:३५

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको विषयमा छानबिन गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।

मन्त्री लेखकको सचिवालयका अनुसार उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई घटनाको कारणबारे छानबिन गरी दोषीमाथि कारबाहीका लागि निर्देशन दिएका हुन् । प्रहरी कर्मचारीको गल्तीका कारण दुर्घटना भएको भन्ने चर्चा चलेको भन्दै गृहमन्त्रीले गम्भीरतापूर्वक छानबिन गर्न भनेका छन् ।

कोटेश्वरबाट भक्तपुरतर्फ गइरहेको ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई सोही दिशामा रहेको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै ज्यान गएको थियो ।

मृतकको सनाखत हुन बाँकी छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार ट्राफिक प्रहरीले आकस्मिक चेकजाँच गर्ने क्रममा एक्कासि रोकिएको स्कुटरलाई पछाडिबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो ।

भक्तपुर प्रहरी परिसरका डिएसपी राजन कार्कीले मृतक अन्दाजी ४०/४५ वर्षका पुरुष रहेको बताए । घटनास्थलमा भेटिएको स्कुटरको बिलबुकमा सवारी धनीको नाम उत्तम कोइराला लेखिएको छ । कोइरालाको ठेगाना ओखलढुंगा उल्लेख छ । मृतक कोइराला नै हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

यद्यपि कोइरालाका आफन्तलाई बोलाइएकाले उनीहरुले पहिचान नगरेसम्म मृतक उनी नै हुन् भन्ने नसकिने प्रहरीको भनाइ छ । प्रहरीले यसअघि मृतक दोलखाकी २३ वर्षीया सुष्मा नेपाली रहेको बताएको थियो । एक युवकले मृतक नेपाली आफ्नो बहिनी नाता पर्ने बताएपछि प्रहरीले उनैलाई हवाला दिँदै दुर्घटनाका युवतीको मृत्यु भएको बताएको थियो ।

तर मृतक भनिएकी युवती आफैं प्रहरीमा उपस्थित भएर आफूबारे ग़लत हल्ला चलाइएको भन्दै आपत्ति जनाइन् । घटनापछि फरार ट्रक चालक सर्लाहीका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ बिहीबार राति तीनकुनेबाट पक्राउ परेका छन् ।

धेरै पढिएको