लण्डन । गैरआवासीय नेपाली संघ साउदी अरबले पश्चिममा ईराक र कुवेतसंग सिमानामा रहेको पूर्वी भाग बह्राईन, कतार, संयुक्त अरब ईमिरेट्स र दक्षिण पूर्वी क्षेत्रमा कूटनीतिक कर्मचारी सहितको स्थायी जनसम्पर्क कार्यालय स्थापना गर्न माग गरेको छ ।
संघका महासचिव शुक्र मोक्तानले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई सोमवार एक पत्र मार्फत साउदी अरबको पूर्वी प्रान्तमा कम्तिमा एक जना कुटनीतिक कर्मचारी सहित एउटा स्थायी वाणिज्य दूतावास वा सम्पर्क कार्यालय स्थापनाको लागि आग्रह गरेका छन् ।
पत्रमा साउदी अरबको रियाद र मक्का प्रान्त पछि तेस्रो ठूलो जनघनत्व रहेको पूर्वी प्रान्त भौगोलिक क्षेत्रका दृष्टिले पनि विशाल क्षेत्र रहेको विदित नै छ । यो प्रान्तले पश्चिममा ईराक र कुवेतसंग सिमाना साझा गरेको छ भने पूर्वमा बह्राईन, कतार, संयुक्त अरब ईमिरेट्स र दक्षिण पूर्वमा ओमानसंग सिमाना साझा गरेको छ । साउदी अरबलाई श्रम गन्तव्य मानी साउदी अरब आइपुगेका आप्रवासी नेपाली श्रमिकहरु मध्ये एक लाख पचास हजारको हाराहारीमा यहि पूर्वी प्रान्तमा कार्यरत रहेको’ उल्लेख छ ।
पत्रमा ‘क्षेत्रमा खनिज उत्खनन तथा प्रशोधन केन्द्रहरु, औद्योगिक संस्थाहरू र बन्दरगाह रहेको कारणले पनि अधिक मात्रामा नेपाली श्रमिकहरु यस क्षेत्रमा कार्यरत छन् । अधिक संख्यामा श्रमिकहरु भएकै कारण यस क्षेत्रमा श्रमिक सम्बन्धित समस्याहरु पनि सोहि अनुपातमा अधिक नै रहेको छ । ठूलो मात्रामा श्रमिक समस्याहरूलाई सम्वोधन गर्न यस क्षेत्रमा वाणिज्य दूतावासको आवश्यकता रहेको अनुरोध गरिएको छ ।
सो क्षेत्रमा कार्यरत कुनै पनि कामदारलाई केहि समस्या आईपरेमा सम्पर्क कार्यालय समेत नभएकोले कि त दूतावास धाउनुपर्ने कि त स्थानीय जनसम्पर्क अधिकारीको सहयोग लिनुपर्ने अवस्था रहेको छ तर अधिक श्रमिक समस्याहरूका कारण स्थानीय जनसम्पर्क अधिकारी अधिकांश समय व्यस्त रहने हुँदा श्रमिक समस्या समाधानमा लामो समय पर्खिनुपर्ने अवस्था रहेको’ पत्रमा उल्लेख छ ।
सो क्षेत्रमा कार्यरत श्रमिकहरु श्रमिक समस्याहरुसंग मात्र नभई विभिन्न दस्तावेजहरु प्रमाणीकरणका लागि घण्टौँ लामो यात्रा गरेर दूतावास नै धाउनु पर्ने अवस्था रहेको छ।
पत्रमा ‘राजस्व बुझाउन पनि हजारौं खर्चेर दूतावास धाउँदै आएका छन् यसरी विविध प्रकारका श्रमिक समस्याहरुको बढ्दो संख्यालाई मध्यनजर गरि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब साउदी अरबको पूर्वी प्रान्तमा कम्तिमा एक जना कुटनीतिक कर्मचारी सहित एउटा स्थायी वाणिज्य दूतावास वा सम्पर्क कार्यालय स्थापना गर्न माग गरिएको छ’ ।