काठमाडौं । कांग्रेसका नेताहरुले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले दुई दलबीचको सहमतिअनुसार आफ्ना सभापति शेरबहादुर देउवालाई इमान्दारीपूर्वक सत्ता हस्तान्तरण गर्नेमा शंका व्यक्त गरेका छन् ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा नेताहरुले ओलीसँगको सहकार्य सहज नभएको बताए । बैठकमा बोल्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ओलीले सत्ता हस्तान्तरण गर्ने भनिएको समय अगावै गठबन्धनमा समस्या आउन सक्ने औंल्लाए ।
‘केपी ओलीजीलाई दुई वर्ष प्रधानमन्त्रीमा सहयोग गर्ने भन्ने हाम्रो प्रतिबद्धता छ’, सिटौलाले भने, ‘तर, त्यस अगावै एमालेसँगको सहकार्यमा समस्या आउन सक्ने देखेको छु ।’
पूर्वउपसभापति विमलेन्द्र निधि र नेता शेखर कोइरालाले भने वर्तमान सत्ता गठबन्धन ०८४ को निर्वाचनसम्म टिकाएर जानुपर्ने बताए । प्रतिनिधिसभाका दुई प्रमुख दलबीच गठबन्धन भएर बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेकामा उनीहरुको जोड थियो ।