३ चैत्र २०८१, सोमबार
Follow Us

साताव्यापी भ्रमणको लागि एनआरएनए अध्यक्ष डा. केसी बेलायतमा

नेपालब्रिटेन डट कम्
८ भाद्र २०८१, शनिबार १८:२७

लण्डन | गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी लण्डन आइपुगेका छन्।

डा. केसी नेपालब्रिटेन डट कमको १७ औं वार्षिकोत्सव लगायतका कार्यक्रममा भाग लिन शनिबार दिउँसो लण्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिएका हुन्।

डा. केसीको स्वागतका लागि गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष हितकाजी गुरुङ, संघका केन्द्रीय उपाध्यक्षहरु डा. हेम राज शर्मा, रामशरण सिमखडा, रोजिना प्रधान राई, युरोप उपसंयोजक रोबर्ट लिम्बु लगायतको जम्बो टोली विमानस्थल पुगेको थियो।

डा. केसीले गैरआवासीय नेपाली संघको स्थापनामा बेलायतको महत्वपूर्ण भूमिका रहेको बताउँदै, एक साता बेलायतमा रहँदा धेरै भन्दा धेरै गैरआवासीय नेपालीहरुलाई भेटघाट गर्ने बताएका छन्।

डा. केसीले बेलायत भ्रमणको क्रममा चारवटै राज्यमा रहेका गैरआवासीय नेपालीहरुसँग अन्तरक्रिया गर्नेछन्।

डा. केसीले भोलि (आइतबार) तमुधीं यूकेको आयोजना हुने १५ औं नेपाली मेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

यस्तै, २६ अगष्ट (सोमबार) गैरआवासीय नेपाली संघ यूकेले अल्डरशटमा आयोजना गर्ने सार्वजनिक सुनुवाईमा उनी सहभागी हुनेछन्। यस्तै, उनी स्कटल्याण्ड, मिडल्याण्ड्स लगायतका स्थानमा आयोजित कार्यक्रममा पनि सहभागी हुने बताइएको छ।

त्यस्तै, डा. केसीले नेपालब्रिटेन डट कमको सेप्टेम्बर १ तारिख लण्डनमा आयोजना हुने १७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीवी ढकालले जनाएका छन्। डा. केसी आगामी सेप्टेम्बर २ तारिख मस्को फर्किने भएका छन्।