लन्डन । बेलायतबाट सञ्चालित नेपालब्रिटेन डटकमलाई १७ औं वर्ष प्रवेश गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सफलताको शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘बेलायतलगायत विश्वभर छरिएका नेपालीहरुको गतिविधिलाई प्राथमिकतामा राखेर निरन्तर समाचार प्रकाशन गर्दै आएको पोर्टलले नेपाली पत्रकारिता र नेपाली भाषाको प्रवद्र्धनमा खेलेको भूमिकाको प्रशंसा गर्न चाहन्छु ।’ ‘बेलायतस्थित भूतपूर्व गोर्खा सैनिकहरु, गैरआवासीय नेपालीहरु, नेपाल तथा बेलायत सरकारका उच्चस्तरीय भ्रमणलगायतका सामाजिक गतिविधिहरुलाई प्राथमिकतामा राख्दै आएको छ’, शुभकामना मन्तव्यमा भनिएको छ, ‘त्यहाँको अनुभव, ज्ञान, सीप, पूँजी र प्रविधिलाई नेपाल र नेपालीको हितमा अधिकाधिक रुपमा परिचालन गर्न प्रोत्साहित गर्ने विषयवस्तुहरु प्रकाशिन हुन सकोस् ।’
अहिले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको र प्रेस स्वतन्त्रताप्रति निष्ठा व्यवहारसिद्ध भएको शुभकामनामा उल्लेख छ । समाजको महत्वपूर्ण अंगको भूमिका पाएको प्रेस जगतले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्ने गरी जिम्मेवार भूमिका खेल्न सक्नुपर्ने प्रधानमन्त्री ओलीले दिएको शुभकामनामा उल्लेख गरिएको छ ।
‘राष्ट्रको अभिभारा पूरा गर्न सरकारले अघि सारेको सामाजिक न्याय, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको यस अभियानलाई जनसमक्ष विस्तार गर्न नेपालब्रिटेन डटकमले महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने मेरो विश्वास छ’, शुभकामनामा भनिएको छ ।