लण्डन् । नेपालब्रिटेन डट कमले वेलायतका विभिन्न क्षेत्रमा कार्यरत १० चर्चित नेपालीहरुको नाम सार्वजनिक गरेको छ । बेलायतबाट संचालित सो अनलाइन प्रोटलले आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर आइतवार (१ सेप्टेम्बर) दस जना नेपालीहरुलाई ‘Media Personality Of the Year 2024’ ले सम्मान गरेको हो । सम्मानित हुने व्यक्तिमा जीत रानाभाट (मेयर अफ ग्रिनवीच), प्रोफेशर डा. तेजेन्द्र फेराली, समाजसेवी शेर बहादुर सुनार, कलम गुरुङ (व्यवसायी), मोहन कार्की (समाजसेवी), राजन खकुरेल (युवा समाजसेवी), नारायण फुयाल (समाजसेवी मिडल्याण्ड), धन तामाङ (लाटे स्पेसलिस्ट), गोमा पौडेल (पहिलो महिला सेफ) र स्नेहा शाक्य श्रेष्ठ (युवा तथा महिला व्यारिष्टर) रहेका छन् । सम्मानित व्यक्तिहरुलाई लण्डनस्थित स्ट्यानवेल कम्यूनिटी हलमा आयोजित विशेष समारोहमा सम्मानित भए ।
१.जीत रानाभाट – मेयर
नेपालीहरुको निक्कै बाक्लो बसोबास रहेको दक्षिण पूर्वी लण्डनमा नेपाली मूलका उम्मेदवार जीत रानाभाट काउन्सिलर हुँदै मेयर निर्वाचित भएका छन् ।
बेलायतको रोयल बरो अफ ग्रीनवीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट नेपाली मूलका उम्मेदवार काउन्सिलरमा जीत रानाभाट पहिलो पटक निर्वाचित भएका हुन् ।
सन् २००८ मा बेलायत आएका रानाभाट अहिले सपरिवार साउथ इस्ट लण्डनमा बसोबास गर्दछन् । सामाजिक र संस्थागत कार्यमा सक्रिय उनले बेलायतस्थित थुप्रै नेपाली सघंसंस्थामा काम गरिसकेका छन् । उनले एनआरएनए यूकेको सचिव पदको जिम्मेवारीसमेत समालेका छन् । उक्त संस्थामा रहँदा नयाँ कार्यशैली र भिजनसहित जिम्मेवारीमा रहेका उनले संस्थाको व्यापार प्रबद्र्धन विभागको संयोजकको समेत जिम्मेवारी पाएका थिए ।
कोरोना संक्रमणका बेला उनले गरेको कामको विशेष प्रशंसा समेत भएको थियो । महामारीको समयमा समस्यामा परेका नेपाली समुदायलाई सहयोग गर्न एनआरएन यूकेले चलाएको हेल्पडेस्कमा संयोजकको भूमिका रानाभाटले लिएका थिए । कोभिड महामारीमा गरेको सहयोगको कदर गर्दै रानाभाटलाई बीबीसी रेडियो लन्डनले ‘मेक अ डीफरेन्स हिरो’को रुपमा कदर गरेको थियो । आरजीएनएसको कोभिड सहायता र जनगणना अभियानमा पनि उनले संयोजक भएर सकृय भूमिका निर्वाह गरेका थिए ।
आफ्नै व्यवसाय गर्दै आएका रानाभाटले नेपालको पोखरा युनिभर्सिटीबाट एमफिलसम्मको अध्ययन गरेका छन् ।
२. डा. तेजेन्द्र फेराली– प्रोफेसर
डा. तेजेन्द्र फेराली युनिभर्सिटी कलेज लन्डनमा शिक्षा, द्वन्द्व र शान्ति बिषयका प्राध्यापक हुन् । जहाँ उनले शिक्षाको माध्यमबाट द्वन्द्व निराकरण र शान्ति प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने बिषयमा अनुसन्धान र अध्यापनको नेतृत्व गर्छन् । युनिभर्सिटी कलेज लन्डन शिक्षा बिषयमा विश्वमा पहिलो नम्बरमा छ । यस प्रतिष्ठित संस्थामा पूर्ण प्राध्यापकको भूमिका निर्वाह गर्ने गैरआवासीय नेपाली डा. फेराली मात्र हुन् ।
उनी नेपालमा शिक्षा र माओवादी विद्रोहको अन्तरसम्बन्ध बिषयमा पिएचडी गर्न सन् २००७ मा बेलायत आएका थिए । सन् २०१२ मा लिभरपुल जोन मूर्स विश्वविद्यालयबाट विद्यावारधि गरेका थिए । पीएचडी पूरा गर्नुअघि नै उनी सन् २००९ मा सोही विश्वविद्यालयमा सिनियर लेक्चररका रूपमा नियुक्त भएका थिए । उनी सन् २०१३ मा युनिभर्सिटी कलेज लन्डनमा सहप्राधापकको भूमिकामा नियुक्ति लिए र २०२२ मा पूर्ण प्रोफेसरमा बढुवा भए ।
हाल प्रोफेसर फेरालीले ‘द्वन्द्व र दीर्घकालीन संकटमा शिक्षा अनुसन्धान’ को सहनिर्देशन गर्दछन् । प्रोफेसर फेरालीले युसिएलमा “द्वन्द्व, आपतकालिन परिस्थिति र शान्ति” बिषयमा एक अग्रगामी स्नातकोत्तर डिग्री स्थापना गरेका छन् । जसमा अध्ययन गर्न हरेक बर्ष बिश्वका तीस भन्दा बढी देशका प्रतिभावान् विद्यार्र्थीहरु लण्डन आउँछन् । यो एकमात्र पूर्ण डिग्री हो जुन विश्वव्यापी रूपमा द्वन्द्व र शिक्षामा केन्द्रित छ ।
उनले अहिलेसम्म १० भन्दा बढी ठूला अन्तरराष्ट्रिय अनुसन्धान परियोजनाहरूको नेतृत्व गरेका छन् । धेरै अन्तरराष्ट्रिय संस्था र सरकारहरूलाई परामर्श प्रदान गरेका छन् । प्रोफेसर फेराली आफ्नो अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विद्वानहरू मध्ये शीर्ष स्थानमा पर्छन् ।
उनी सन् २०२३ मा बेलायतको सामाजिक विज्ञान एकेडेमीको फेलो निर्वाचित भएका थिए । उनी ब्रिटिश एसोसिएसन फर इन्टरनेशनल एण्ड कमपेरेटिभ एजुकेशनका अध्यक्ष तथा तुलनात्मक र अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा अग्रणी जर्नलको सम्पादकीय बोर्डका अध्यक्ष हुन् । उनी एजुकेशन एन्ड कन्फ्लिक्ट रिभ्यु जर्नलका संस्थापक सम्पादक हुन् । यस जर्नलले अनुसन्धानको ज्ञानलाई अन्तर्राष्ट्रिय रूपमा पाठकहरूलाई निःशुल्क उपलब्ध गराउँछ ।
प्रोफेसर फेराली कन्फ्लिक्ट, एजुकेशन एण्ड पिस इन नेपाल (ब्लुम्सबरी, २०२२) र ल्याबोरेटरीज अफ लर्निङस् सोसल मुभमेन्ट्स, एजुकेशन एन्ड नलेज मेकिङ इन द ग्लोबल साउथ (प्लुटो प्रेस, २०२४) का लेखक हुन् । शैक्षिक जर्नलहरूमा उनका दर्जनौं लेख तथा समीक्षाहरु प्रकाशित छन् ।
प्रोफेसर फेरालीले नेपालमा र बेलायतको नेपाली समुदायमाझ आफ्नो प्राज्ञिक अनुभव र ज्ञान बाँड्दै आएका छन् ।
३. शेरबहादुर सुनार– समाजसेवी
मिनलसार, मृदुभाषी र एनआरएन अभियानमा लामो समयदेखि अहोरात्र खटिएका शेरबहादुर सुनार बेलायतका लोकप्रिय समाजसेवी हुन् ।
सुनारले भूपू गोर्खा मुद्दा, गैरआवासीय नेपाली नागरिकताको सवाल, बेलायतका नेपालीको हकहित, एनआरएन कार्यालयजस्ता महत्वपूर्ण मुद्दालाई आफ्नो प्राथमिकतामा राखेर सामाजिक क्षेत्रमा सकृय छन् ।
२७ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका सुनार बेलायतस्थित विभिन्न नेपाली सामाजिक संघसंस्थामा काम गरेका छन् । सिर्जनशील नेपाली समाज यूके र गोर्खाज इन्टेक १९८५ का संस्थापक अध्यक्ष उनले अरु आधा दर्जन बढी संस्थामा महत्वपूर्ण जिम्मेवारी वहन गरिसकेका छन् ।
बेलायती सेनामा १८ वर्षको सेवाबाट अवकाश लिइसकेपछि बेलायतमा बस्दै आएका उनी एनआरएन यूकेमा स्थापनाकालदेखि नै आबद्ध रहँदै आएका छन् । हेल्प नेपाल नेटवर्कको सहयोगार्थ आयोजित परोपकारी कार्यक्रमको उपसंयोजक भएर एकै रातमा १ करोड रुपैयाँ उठाउन सहयोग गरेका थिए ।
सुनारले लमजुङको बागिश्वरी माध्यामिक विद्यालयलाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । लमजुङको दुधपोखरी गाउँपालिका विचौरमा विद्यालयको शैक्षिक, भौतिक क्षेत्रको विकासका लागि रकम प्रदान गरेका हुन् । यसअघि उनले सोही विद्यालयमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।
उनी बेलायतमा नेपाली समुदायमा पर्ने दुःखको सारथीको रुपमा होस् वा नेपालमा परिआउने महाभूकम्प वा कोरोना महामारी होस्, सहयोगीको रुपमा आफुलाई सक्रिय पार्दै आएका छन् । उनी आर्मीमा रोयल इलेक्टिकल मेकालिकल इन्जिनिय समेत हुन् ।
४. कमल गुरुङ – व्यवसायी तथा समाजसेवी
विगत १४ वर्ष बेलायतदेखि बेलायता बसोबास गरेका कास्कीको धम्पुसमा जन्मिएका कलम गुरुङ सफल व्यवसायी हुन् । गत मे महिनामा नेपाल र इंल्याण्डबीच भएको मैत्रीपूर्ण फुटबलको मुख्य सुत्राधार थिए– कमल गुरुङ । बेलायतमा नेपालका राष्ट्रिय टिमलाई पहिलो पटक उतारेर उनले चर्चा कमाएका थिए ।
उनी आफ्नो व्यवसायका अतिरिक्त परोपकारी काममा सकृय छन् । आफ्नै जन्मघर घुम्पुसको विकासको लागि धम्पुस समाज यूकेमार्फत उनले २० लाख रुपैयाँको परोपकारी काम गरेका थिए । धम्पुसको उदय माविको पुरानो भवन १ डेढ करोड संकलन गरेका थिए ।
सन् २०१४ मा उनले चर्चित नृत्यांगाना तेरिया मगरलाई बेलायतमा ल्याएर ठूलो च्यारिटी इभेन्टमार्फत आर्थिक संकलन गरेका थिए । सन् २०१५ मा नेपालमा गएको महाभूकम्पमा उनले बेलायती सेनासँग सहकार्य गर्दै सेनाको जहाजमार्फत झन्डै २० लाख रुपैयाँ बराबरको राहत नेपाल पठाउन सफल भए ।
उनले नेपाली खेलकुदको विकासको लागि उल्लेख्य काम गरेका छन् । उनले पोखरेली मन्चमार्फत पोखरा म्यराथुनको संचालनमा योगदान पु¥याएका थिए । उनको बुद्धगुम्वा, बगरभाइ खलक, तमुधिं यूके, बुद्धिस्ट गुम्बा रेडिङ लगायतका संघसंस्थामा काम गरेका थिए ।
बुद्धिस्ट गुम्बा रेडिङको महासचिवको रुपमा सकृय गुरुङले गुम्वा संचालनको लागि आफ्नै संयोजकत्वमा लाखै रुपैयाँ संकलन गर्न सफल भए क्यास एण्ड क्यारी, हिमालय ट्राभल्स, नेपाली रेष्टुरेन्ट, सुपर मार्केट लगायतको क्षेत्रको अनुभव बटुलेका गुरुङले आफ्नो मातृभूमि नेपालमा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने तथा गाउँमा नेपाली मोठमन्दिर बनाई दिने कामसमेत गरेका छन् । खेल क्षेत्रमा विशेष योगदान दिएबापत साहारा यूकेले प्रदान गर्ने विशेष अवार्डद्वारा उनी सम्मानित भएका छन् ।
५. मोहन कार्की (स्कटल्याण्ड), समाजसेवी
मोहन कार्की स्कटल्याण्डको नेपाली समुदायको अग्रज समाजसेवी र एनआरएन अभियन्ताको रुपमा सुपरिचित नाम हो । उनी ग्लासगो नेपाली एशोसियनको अध्यक्ष हुँदा सन् २०११ मा मोहन कार्कीको पहलमा सो संस्था च्यारिटीको रुपमा दर्ता भएको थियो ।
ग्लासगो नेपाली एशोसियनको हाल आफ्नै भवन समेत रहेको छ । व्यवसाय विस्तारको क्रममा हाल फलक्रिकमा बसोबास गर्ने कार्कीको अध्यक्षतामा फोर्थ भ्याली नेप्लिज एशोसियनले स्कटिस स्थानीय सरकारसँग समन्वयमा बिभिन्न कार्यहरु गर्दै आएको छ ।
कार्कीले सामाजिक सेवामा योगदान गरेको कारण हाउस अफ लडर्सले सम्मान समेत गरेको छ । उनी समाजका दुःखसुुखका सारथी हुन् । महावीर पुनको नेपाल आविष्कार केन्द्रलाई व्यक्तिगत रुपमा दुई लाखभन्दा बढी सहयोग गरेका छन् । स्कटल्याण्डका विभिन्न ठाउँहरूबाट संकलन २० लाखभन्दा बढी सहयोग संकलन गर्न उनको ठूलो योगदान छ ।
नेपालमा भूकम्प आउँदा उनले व्यक्तिगत र संस्थागत रुपमा दश लाखभन्दा बढी सहयोग उठाएर । एनआरएनए स्कटल्याण्डको संस्थापक अध्यक्षसमेत रहेका उनले एनआरएनए युकेको दुई कार्यकाल उपाध्यक्षको जिम्मेवार समाले ।
एनआरएनए युकेको अघिल्लो कार्यकालमा नेपाली नागरिकता निरन्तर अभियानको संयोजक समेत रहेका कार्कीले गैरआवासीय नेपालीलाई नागरिकता निरन्तरको विषयमा निरन्तर लविङ गरिरहेका छन् ।
फलक्रिकमा मेक्सिकन र जापानिज रेस्टुरेन्ट छ भने उनको बि एण्ड बि व्यवसाय तथा प्रोपर्टी बिजनेस (कमर्सियल तथा रेसिडेन्सिएल) पनि रहेको छ ।
हालैमात्र स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन छक्समेक्सबार एण्ड ग्रिलले स्कटल्याण्डको बेस्ट रेष्टुरेन्ट अवार्र्ड प्राप्त गरेको छ । स्कटल्यास्डकोे प्रतिष्ठित ओसिएनिक आवासद्वारा आयोजना गरिएको द स्कटिस रेष्टुरेन्ट अवाद्ध २०२४ मा मेक्सिकन टक्समेक्स बार एण्ड ग्रिललाई बेस्ट रेष्टुरेन्ट प्रदान गरिएको थियो ।
फास्टफुड बिजनेसमा २२ वर्षदेखि कार्यरत कार्कीले यसअघि मध्यपूर्वमा तथा अमेरिकाको मियामीमा उत्कृष्ट म्यानेजरको रुपमा समेत अवार्ड प्राप्त गरेर चर्चामा आएका थिए ।
६. राजन खकुरेल– युवा समाजसेवी
धादिङ जिल्लामा स्थायी घर भएका खकुरेल बिगत १४ बर्षदेखि बेलायतलाई कार्य क्षेत्र बनाई सामाजिक कार्यमा सक्रिय छन् । खेलकुद, स्वास्थ्य, सामाजिक तथा ब्यवसायिक रुपमा युवाहरु माँझ निकै लोकप्रिय छन् । २०१५ मा नेपालमा गएको भूकम्पको समयमा बेलायतबाट निकै मेहनतका साथ औषधि, लत्ताकपडा तथा आर्थिक सहयोग जुटाएर नेपाल पठाएर चर्चामा आएका थिए ।
उनले स्वास्थ्य, खेलकुल र युवाहरुको सहयोगको लागि आर्थिक संकलन समेत गरेका छन् । बुद्ध फाउनडेसन युकेले ट्राफलगर स्क्वरमा आयोजना गर्दै आएको बुद्ध जयन्ति उत्सवको लागि आर्थिक संयोजकको भुमिका खेले । बुद्द फाउण्डेशन यूकेको संस्थापक कोषाध्यक्ष रहेका खकुरेलको अग्रिम भूमिकामा निर्माणाधीन कपिलवस्तु बृद्दाश्रमको लागि उनको कार्यकालमा करिब ३० हजार पाउण्डको सहयोग नेपाल पठाएका थिए ।
गैरआवासीय नेपाली संघ यूकेको कार्यसमितिमा रहँदा उनले एनआरएनए यूके च्यारिटी सस्थाको रुपमा दर्ता गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।
२०१८ मा एनआरएनए यूकेले गोर्खा कपमा सुरु गरेको स्वास्थ्य शिविर (हेल्थ क्याम्प) को पनि खकुरेलले सहसंयोजकको भूमिका निर्वाह गरे भने २०१९ मा भएको गोर्खा कपमा गरेको स्वास्थ्य शिविरमा संयोजकको भूमिका निर्वाह गरे ।
कोभिड १९ को सुरुवाती कठिन समयमा साउथ इष्ट लन्डनस्थित ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी’ (आरजीएनएस) ले समुदायका समाजसेवी, स्वयंसेवी, व्यवसायी, नेपालबाट आएका भिजिटर, पत्रकार गरी करिब ५ सय जना भन्दा बढी व्यक्तिलाई खोप व्यवस्था गरेको थियो ।
उनले कोरानाको महामारी बखत घरबाट बाहिर निस्कन नसक्ने अशक्त ४ सय भन्दा बढी परिवारलाई करिब १५ हजार पाउन्डको निशुल्क खाद्यान्न वितरणमा संयोजनकारी भूमिका खेलेका थिए ।
उनले अन्तर्राष्ट्रिय धादिङ समाजमार्फत रकम संकलन अभियानमा ७ दिनमा करिब रु १० लाख संकलन गरी अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ जिल्लाका १३ वटै स्थानीय तहलाई अति आवश्यक स्वास्थ्य सामाग्री र खाद्यन्न वितरण गरेको थियो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा करिब ४ लाख बराबरको स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्न उनले सकृयता देखाए ।
उनकै संयोजकत्वमा २०२० मा धादिङका ११८ विपन्न परिवारलाई दुई चरणमा गरेर करिब ३ लाख रूपैंयाँ बराबरको खाद्यान्न वितरण गरिएको थियो । उनको सहयोग अपिलमा मे २०२० मा धादिङका एन्जल तामाङको उपचार खर्चको लागि १ लाख ३१ हजार ३०६ रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरे ।
खकुरेलको संयोजनमा जुन २०२० मा धादिङका विभिन्न स्वास्थ्य केन्द्रमा डिजिटल हेल्थ क्याम्प सम्पन्न गरी, गाउँमा रहेका दीर्घरोगी, बृद्धबृद्धा, महिलामा हुने स्वास्थ्य समस्याबाट करिब ७ सय बिरामीलाई विशेषज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
कोभिडको समयमै धादिङ जिल्लामा अक्सिजन कन्सनट्रेटरको निकै अभाव भएका बेला खकुरेलको प्रमुख संयोजनमा अमेरिका, जापान, अस्ट्रेलिया र बेलायतबाट ३८ थान अक्सिजन कन्सनट्रेटर मेसिनलगायत अन्य स्वास्थ्य सामग्रीहरु जिल्लाको विभिन्न ठाउँमा उपलब्ध गराइएको थियो ।
उनले अन्तर्राष्ट्रिय धादिङ समाजमार्फत बैदेशिक रोजगारको क्रममा मृत्यु भएका तथा अलपत्र परेका अभिभावकहरुको ५३ जना बालबालिका हरुलाई निशुल्क शैक्षिक सामग्री वितरण गरे । उनको धादिङमा गाउँपालिका स्तरीय निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना सफलताका पूर्वक सम्पन्न गरेर चर्चामा आएका छन् ।
७. धन तमाङ, लाटे स्पेसलिस्ट
बेलायती सेनामा भर्ती हुने सपना पूरा नभएपछि धन तामाङलाई देशमा बस्नै मन लागेन । पछि विदेशिए अहिले लाटे स्पेसलिस्टको रुपमा चर्चामा छन् । सन् २००५ मा विदेश जाने भूत सवार भएपछि म्यानपावर कम्पनी खोजे । खाडी मुलुक कुवेत जान कम्पनीलाई दुई लाख रुपैयाँ बुझाएपछि उनको विदेश जाने सपना पूरा भयो ।
बिदेशिनुअघिको अन्तर्वार्तामा उनले कफी बनाउन आउँछ भनेर ढाँटेका थिए । कफीको धुलो दूध र पानीमा घोलेर बनाउने होला भन्ने थियो उनलाई । तर कुवेत पुगेपछि मात्र उनलाई कफिका प्रकारबारे थाहा भयो । लाट्टे, क्यापाचिनो, अमेरिकानो जस्ता नाम उतै सुनेको उनले स्मरण गरे ।
त्यसपछि उनको कफी यात्रा सुरु भयो कुवेतबाट । अमेरिकी कफी चेन यूएस ग्रीन बिन्सको आउटलेट थियो । ७० केडी (करिब १७ हजार रुपैयाँ) तलबमा दुई वर्ष काम गरेपछि भने उनले धेरै सिकेर २००८ मेमा नेपाल फर्किए तामाङ ।
काभ्रे तिमालमा जन्मिएर त्यहीं हुर्किएका हुन् तामाङ । एसएलसी सकेर २०५८ सालमा काठमाडौं गएपछि चार वर्षजति त्यहाँ बसेर पढाइ, काम गर्न थाले । सन् २०१० फेब्रुअरी विद्यार्थीको डिपेन्डेन्टमा बेलायत आए उनी । लन्डन उत्रिएपछि जिन्दगीको अर्को च्याप्टर सुरु भयो उनको ।
काम र अवसरको खोजीमा उनले बेलायतका हेस्टिङ, वुलबिच, प्लमस्टिड र हन्स्लो वेस्ट चहारे । काम चाहिँ आएदेखि नै कफी सपमा गर्ने धोको थियो । सुरुमा गेल्स बेकरीमा काम थालेको डेढ वर्षमै असिस्टेन्ट म्यानेजर बने । अवसरको खोजीमा भौंतारिरहँदा सन् २०११ नोभेम्बरमा विनचेस्टर सरे । उनले अहिले आफ्नै कफी व्यवसाय सञ्चालन गरेका छन् ।
८. नारायण फुयाँल– समाजसेवी
काभ्रेको धुलिखेलमा जन्मिएका नारायण फुयाँल १९ वर्षअघि बेलायत आएका हुन् । वर्कपरिमिट भिसामा बेलायत आएका फुयाँल रेष्टुरेन्ट व्यवस्थापनको प्रमुख थिए । उनले सन् २०१२ सम्म रेष्टुरेन्टको व्यवस्थापन सम्हालेका उनले सन् २०१३ मा आफ्नै व्यवसायको सुरुआत गरे ।
सामाजिक सेवाभाव एवंम् अरूलाई सहयोग नै सच्चा मानव सेवा हो भन्ने भावनाका फूयालले आफ्नो व्यवसायसँगै उनले बेलायतका नेपाली समाजलाई सहयोग गर्न थाले । उनले सन् २०१३ मा सिर्जनशील लेष्टर समाज यूकेको सल्लाहकारको रुपमा समाज सेवामा हात हाले । उनले साझा नेपाली समाज यूकेमा रहँदा स्थानीय नेपाली संघसंस्थाहरुलाई एकीकृत गर्न सहयोग गरे ।
साझा नेपाली समाजको सकृयतमा धुर्मुस–सुन्तली फाउण्डेसन मार्फत् गिरानचौर बस्तीलाई सहयोग उपलब्ध गराए । उनले नेपालको महाभूकम्प गएको बेला भौतिक तथा आर्थिक सहयोग संकलन गर्न सकृय भूमिका खेलेका थिए । उनले सन् २०२१ सिर्जनशील लेस्टर नेपाल यूकेको अध्यक्षको रुपमा काम गर्ने मौका पाए । उनले नेपाली समुदायलाई स्थानीय निकायसँग मिलेर काम गर्ने बातावरण बनाए ।
उनले सन् २०२२ जुनमा मिडल्यान्डमा यूके भरिबाट नेपालीहरूलाई लेष्टरमा निम्त्याएर रानीको प्लेटिनम जुबली मनाएर चर्चा कमाएका थिए । कोभिडको समयमा उनले नेपालका लागि कोभिड खोप र आकस्मिक सहयोगका लागि बेलायतको संसदमा अनुरोध समेत पठाएका थिए ।
सन् २०२३ मेमा बेलायती राजा चाल्र्सको राज्याभिषेक विशेष समारोहको भव्य आयोजना गरेका थिए । उनी काभ्रे समाज बेलायतको वर्तमान अध्यक्ष समेत हुन् । समाजले काभ्रेको श्री बाल मन्दिर आधारभूत बिद्यालयमा अध्ययनरत जेहन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।
समाजका सकृयतामा श्री कालीगंगा प्राथमिक विद्यालयमा काभ्रेका विद्यार्थीलाई समेत पठनपाठनमा सहयोग गर्दै आएका छन् । उनले गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकारको भूमिका समेत खेलका छन् । उनकै सकृयतमा नेपालका केही क्यान्सर पीडितको लागि समेत सहयोग गरेका छन् । उनी बेलायतको मिडल्याण्ड क्षेत्रमा मर्दापर्दाको साथीको रुपमा परिचित छन् । उनी २०१२ मा स्थापित मिडल्यान्डका ७ भन्दा बढी संस्थाहरूको छाता संगठन साझा नेपाली समाजको कोषाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुँदै हाल ट्रष्टि पदमा सेवारत छन् ।
०९. गोमा पौडेल– पहिलो नेपाली महिला शेफ
लमजुङमा घर भएकी गोमा पौडेल बेलायतमा पहिलो महिला हेड शेफ हुन् । उनले नेपाली महिलाले पनि बेलायतजस्तो देशमा शेफ भएर काम गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएकी छन् ।
१९ वर्षअघि बेलायत आएकी पौडेलले अहिले तीनवटा रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छन् । हाम्रो नेपाली समाज मिडल्याण्डको अध्यक्ष भएर उनले नेपाली समाजमा ठूलो योगदान गरेकी छन् । उनीले गैरआवासीय नेपाली संघ यूकेको कार्यसमिति सदस्य समेतको जिम्मेवारी समालेकी छन् ।
मिडल्याण्ड क्षेत्रमा नेपाली समुदायलाई दुःख परेको बेला सहयोग गर्दै आएको साझा नेपाली समाजको ट्रष्टिको रुपमा अहिले सकृय रहेकी छन् । नेपालको त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेकी पौडेलले नेपालमा बिभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएकी छन् ।
नेपालमा बाढी पहिरो पीडित होस् वा विदेशमा कोरोना संक्रमणका बेला पौडेलले नेपालीहरुको दुःखमा मलम लगाउन सकृय भूमिका निर्वाह गरेकी छन् । कोरोना संक्रमणको बेला मिडल्याण्ड क्षेत्रमा रहेका नेपाली विद्यार्थीको सहयोगको लागि घरघर खाना वितरण गरेर पौडेलले चर्चा बटुलेकी थिइन् । उनले लमजुङको मानव सेवा आश्रम र काठमाडौंमा अध्ययनरत विपन्न विद्यार्थीहरुको लागि आर्थिक सहयोग गर्दै आएकी छन् ।
१०. स्नेहा शाक्य श्रेष्ठ, युवा तथा महिला ब्यारिष्टर
एक असल कानुन व्यबसायी बन्ने सपना बुनेकी स्नेहा शाक्य श्रेष्ठ हाल इसेक्स विश्वबिद्यालयबाट कानुन बिषयमा स्नातक र किंग्स कलेजबाट स्नाकोत्तर उत्तीर्ण गरेकी छन् ।
बिद्यालयदेखि यति नेपाली संस्थालगायत विभिन्न सामाजिक संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा नाँचगान गर्न थालेकी स्नेहाले बेलायतको एक्स फ्याक्टरमा समेत सहभागिता जानेकी थिइन् ।
ठूलो भूकम्पमा नेपाल रहेकी स्नेहाले आफ्नो पढाइलाई एक बर्ष रोक्ने निर्णयसहित केही समय स्वयंमसेवामा लागेकी थिइन् । त्यही समयमा आफ्नो रोजाइको गायनलाई निरन्तरता दिँदै अनिल शाही तथा न्ह्यु बज्राचार्यको संगीतमा चारवटा गीत रेकर्डिङ गराइन् ।
बेलायतमा ब्यारिष्टरको रुपमा कार्यरत स्नेहा प्रोटिमस नामक अन्तर्राष्ट्रिय संस्थामा संलग्न भइ अफ्रिकाका बिभिन्न देशमा कानुन शिक्षा प्रदान गर्दै आएकी छिन् ।
बेलायतस्थित नेपाली मुलका कानुन ब्यवसायीहरुको संगठन नेपाल ब्रिटेन लयर्स एशोशियसनमा आबद्ध स्नेहाले भविष्यमा आफूले नेपालको कानुनी बिकासमा के कसरी योगदान पु¥र्याउन सकिने छ भन्नेबारेमा केही योजनाहरु कोर्न सकिने बताउँछिन । हाल इनर टेम्पलको सदस्य भइ हल्बर्न चेम्बरमा कार्यरत एक मात्र नेपाली महिला ब्यारेष्टर स्नेहाले छोटो समयमा नै फौज्दारी कानुनमा उल्लेख्य अनुभब बटुली सकेकी छन् ।