२१ आश्विन २०८२, मंगलवार
Follow Us

सिंहदरबार जलिरहँदा कहाँथिए बालेन शाह ?

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०८२, मंगलवार १४:११

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेन-जी आन्दोलनका क्रममा सिंहदरबारमा भएको आगलागीमा महानगरको दमकलले भूमिका नखेलेको भन्दै आफूमाथि लगाइएका आरोपहरूको खण्डन गरेका छन्।

मंगलबार साँझ एक लामो सामाजिक सञ्जाल स्टाटस लेख्दै उनले अराजक परिस्थितिका बीच पनि महानगरको टोलीले ज्यानको जोखिम मोलेर ५५ भन्दा बढी स्थानमा आगो निभाएको विस्तृत विवरण सार्वजनिक गरेका हुन्।

‘यत्रो सिंहदरबार जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो ? सिंहदरबार जलाउने नै बालेन शाह हो ! जस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्,’ शाहले लेखेका छन्, ‘हुँदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु।’

उनले भदौ २४ गतेको दिन देश नै अस्तव्यस्त र राज्य ठप्प भएको अवस्थामा पनि स्थानीय सरकार आफ्नो दायित्वबाट पछि नहटेको स्पष्ट पारे।

उनका अनुसार, सिंहदरबारमा आगो लागेलगत्तै दमकल पठाउने प्रयास भए पनि आन्दोलनकारीको अवरोधका कारण सम्भव भएको थिएन।

‘नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन, कारण थियो हुलले दमकललाई काम गर्न नदिएको,’ उनले भने, ‘जब भिड अलिक शान्त भयो, २४ गते साँझ ८:१५ भित्रै महानगरको दमकल त्यहाँ पुगेको थियो।’

मेयर शाहले भदौ २३ देखि २८ गतेसम्म महानगरका ५ वटा दमकल ५५ पटकभन्दा बढी आगलागी नियन्त्रणमा खटिएको तथ्यांक प्रस्तुत गरे।

जसअनुसार, सिंहदरबारमा मात्रै चार पटक, संसद भवन, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, विभिन्न प्रहरी वृत्त, भाटभटेनी सुपरमार्केटका शाखाहरू, निजी घर तथा गोदामहरूमा समेत दमकल पुगेको थियो।

‘सर्वोच्च अदालत परिसरमा आगो निभाएर त्यहाँका महत्वपूर्ण कागजपत्र बचाएको प्रमाण हामीसँग सुरक्षित छ,’ उनले दाबी गरे।

प्रमुख शाहले आफ्नो टोली आगलागी नियन्त्रणमा मात्र सीमित नभई घाइतेहरूको उद्धार, उपचार व्यवस्थापन, औषधि र रगतको समन्वय, बिरामी तथा कुरुवालाई खाना र बासको व्यवस्थापनदेखि शव व्यवस्थापनसम्मका काममा रातदिन खटिएको सुनाए।

‘उपचारको लागि अभिभावक नभएका सम्पूर्ण बिरामीको अभिभावक हाम्रो टिम बनेको थियो,’ उनले भने, ’अपरेसन गर्दा चाहिने ‘Informed Consent Form’ मा समेत हाम्रो नगरप्रहरीले जिम्मेवारी लिएर हस्ताक्षर गरेको छ।’

उनले तथ्य नबुझी अफवाह फैलाउनेहरु प्रति असन्तुष्टि जनाउँदै भने ‘मलाई यसको कुनै जस चाहिएको छैन, कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न र उद्धार कार्यमा खटिनेलाई त सम्मानजनक दृष्टिले हेर्नुहोस्, देशलाई एकता र साँचो कुराको खाँचो छ, हल्ला र झुटको होइन।’

धेरै पढिएको