२९ भाद्र २०८१, शनिबार
Follow Us

डार्टफोर्डको बौद्धिक समुदायसँग एनआरएनए अध्यक्ष डा केसीको अन्तर्क्रिया

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०८१, बुधबार १९:२५

लण्डन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले बेलायतको म्याराथन भ्रमणका क्रममा विभिन्न समुदायसँग अन्तर्क्रियालाई मुख्य प्राथमिकता दिए। लन्डन, मिडल्यान्ड, स्कटल्यान्ड, लिभरपुल हुँदै उनले डार्टफोर्डमा पुगेर एनआरएनएको विवाद, नागरिकता र सम्पत्तिको अधिकार, लगानीका अवसर लगायत विषयमा प्रवासी नेपालीमा रहेका जिज्ञासा र प्रश्नको सम्बोधन गरे।
यसै क्रममा सोमबार उनी डार्टफोर्डको एक बौद्धिक समाजले आयोजना गरेको अन्तर्क्रियामा सहभागी भए। आसन ग्रहण र अन्य औपचारिकतातिर समय खर्च नगरी विशुद्ध विषयवस्तुमा केन्द्रित भई गरिएको उक्त कार्यक्रममा गैरआवासीय नेपालीहरुले पनि निकै गम्भीर र आमचासोका सवालहरु उठाएका थिए। ती प्रत्येक सवालको जवाफ अध्यक्ष केसीले दिएका थिए।
गैरआवासीय नेपाली नागरिकता पाएर पनि नेपाल जाँदा भिसा लगाउनुपर्ने किन? के दसैँमा घर जाँदा हाम्रा केटाकेटीलाई गैरआवासीय नागरिकता दिँलाउँदा हुन्छरु नेपालमा अहिले लगानी गर्ने तर पछि त्यसको प्रतिफल आफू बसेको देशमा ल्याउन पाइन्छ भन्ने के ग्यारेन्टी छ ? यी र यस्ता प्रश्न डार्टफोर्डवासी नेपालीले गरेका थिए।
अध्यक्ष डा केसीले गैरआवासीय नागरिकता लिएकाले नेपालमा भिसा लगाउनु नपर्ने गरी कानुन संशोधनको पहल भइरहेको र यसका लागि सरकारका निकायहरुसँग सघन गृहकार्य भइरहेको जानकारी दिएका थिए। दसैँसम्ममा खुसीको खबर सुनाउन पाइनेमा आफू आशावादी रहेको उनको भनाइ थियो । यस विषयमा आफूले परराष्ट्रमन्त्रीदेखि गृहमन्त्री र प्रधानमन्त्रीसँग समेत कुरा राखिसकेको बताउँदै उनले सरकारले पनि गम्भीरतापूर्वक लिएर सामाधानतर्फ रुचि देखाएको जानकारी दिए।
गैरआवासीय नागरिकता अधिकार प्राप्तिका लागि लड्ने आधार मात्र रहेको र अब राजनीतिक अधिकार प्राप्तिका लागि समेत लड्ने उनको भनाइ थियो।
उनले भने, ‘सरकारले गैरआवासीय नागरिकता दिएपछि एकपटकको नेपाली सधैँका लागि नेपाली भन्ने मान्यता स्थापित भएको छ। सामाजिक आर्थिक अधिकार पायौँ । अब थप अधिकारका लागि लड्छौँ।’
उनले नेपालमा ढुक्क भएर लगानी गर्न र स्वदेशको समृद्धिको अभियानको हिस्सा बन्न पनि गैरआवासीय नेपालीलाई आग्रह गरे। आफ्नो देशमा लगानी गर्दा प्रतिफल ल्याउन नपाइएला कि भनेर चिन्तित हुनु नपर्ने उनको भनाइ थियो। एनआरएनएकै पहलमा विभिन्न नियम र निर्देशिकाहरु संशोधनको क्रममा रहेको र विस्तारै सबै चासोहरु सम्बोधन हुने उनले बताए।
‘तपाईँहरू ढुक्क भएर देशमा लगानी गर्नुहोस्,’ उनले भने, ‘संसारमै राम्रो प्रतिफल नेपालमा छ। लगानीका क्षेत्र सबै खुला र खाली छन्। कानुन संशोधन हुँदै छन्। सहजीकरण गरिँदै छ। अब देशसँग माग्ने होइन, दिने बेला भएको छ। कमाइको १०(२० प्रतिशत मात्र भए पनि लगानी गरौँ। अहिलेको लगानी बुढेसकालको पेन्सन हुन सक्छ। भावी सन्ततिलाई स्वदेशसँग जोड्ने माध्यम बन्न सक्छ।’
आफू मात्र होइन, छोराछोरीलाई पनि ढुक्क भएर नेपालको गैरआवासीय नागरिकता दिलाउन उनले सुझाए। ‘मेरो छोराले नेपाली नागरिकता पाएपछि उसले सम्मानीत भएको महसुस गरेको छ। नेपालप्रति उसको धारणा नै परिवर्तन भएको छ। देशप्रति विशेष लगाव बढेको मैले पाएको छु। तपाईंहरु पनि नागरिकता दिलाएर हेर्नुहोस्, यसले हाम्रो नेपालसँगको नाता सम्बन्ध निरन्तर गर्न र हाम्रो सम्पत्तिको अधिकारसम्बन्धी चिन्ता दूर गर्नेछ।’
कार्यक्रममा एनआरएनए उपाध्यक्ष एवं नागरिकता निरन्तरता कार्यदलका संयोजक रामशरण सिम्खडाले हालसम्म गरिएका प्रयास र उपलब्धिबारे प्रस्तुतिकरण दिएका थिए।

गैरआवासीय नेपाली संघका सल्लाहकार चिरन्जीबी ढकालको समेत उपस्थिति रहेको सो कार्यक्रम संचालन आइसीसी सदस्य डा. मुकुन्द बास्तोलाले गरेका थिए भने स्वागत मन्तव्य तिलक भट्टराईले दिए ।