काठमाडौं । एमाले बागमती प्रदेश इन्चाई राजन भट्टराईसहित काठमाण्डुका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । दुई दलका शीर्ष नेताहरु सार्वजनिक रुपमै एकअर्काविरुद्ध टिकाटिप्पणीमा उत्रिएका बेला भट्टराई नेतृत्वको टोलीले बिहीबार खुमलटार पुगेर प्रचण्डलाई भेटेको हो ।
भेटमा उपत्यकाका नदी किनारामा ४० मिटरसम्म संरचना बनाउन रोक लगाउने सर्वोेच्च अदालतको फैसला र त्यसलाई कार्यान्वयन गर्न काठमाण्डु महानगरपालिकाले जारी गरेको सूचनाका विषयमा कुराकानी भएको भेटमा सहभागी एमाले नेता रामेश्वर फुयालले जानकारी दिए ।
उनका अनुसार भेटमा प्रचण्डले जनसरोकारका विषयमा आफूले साथ दिने बचन दिएका थिए । प्रचण्डले अदालतको फैसला पुनरावलोकनका लागि सरकार भ्याकेटमा जान उपयुक्त हुने सुझाव दिएका छन् । ‘सरकार भ्याकेटमा जाँदा हाम्रो सहयोग हुन्छ भन्नुभएको छ’, फुयालले भने ।
सोही विषयमा एमाले कार्यकर्ता र काठमाण्डुका मेयर बालेन्द्र साह (बालेन) बीच सोसल मिडिया वार चलिरहेको छ ।