काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्ना उपसभापति धनराज गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन् ।
राजधानीमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति नै रहेको बताए । उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ थियो ।
गुरुङ स्वयंले सदनमा जस्तोसुकै छानबिनको सामना गर्न तयार रहेको बताइसकेको अवस्थामा अनुसन्धानमा ढिला गर्न नहुने थापाले उल्लेख गरे ।
कुनै पनि प्रकरणमा कानून उलंङ्घन गरी दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको थापाको भनाइ थियो ।
प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सहकारी ठगीमा भइरहेको छानबिन प्रभावित पार्न आफूमाथि आरोप लगाइएको दाबी गरेका थिए ।
गुरुङले आफूमाथि आशंका भए तत्काल छानबिन गर्न सरकार र संसद्को ध्यानाकर्षण गराए । संसदीय छानबिन नै गर्नुपर्छ भने पनि आफू तयार रहेको उनको भनाइ थियो ।
गुरुङ र उनकी पूर्वपत्नी ज्योतीले करिब १८ करोड ठगी गरेको भन्दै ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारी संस्थाका पदाधिकारीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी दिएका छन् ।