११ बैशाख २०८२, बिहीबार
Follow Us

मैले राजनीतिबाट अवकाश लिने समय आयो: कांग्रेस सभापति देउवा

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०८१, शुक्रबार ०६:१५

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले राजनीतिबाट अवकाश लिने समय आएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बिहीबार आयोजित एक कार्यक्रममा देउवाले आफ्नो अवकाशको समय आएको बताएका हुन् ।

आफ्नो उमेर पनि गएको र अरु हरेक कारणले अवकाशको समय भएको उनको भनाइ थियो । ‘मेरो एज पनि गयो, हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ,’ देउवाले भने । देउवाले पार्टी हाँक्ने तयार गर्न युवा नेताहरुलाई आग्रह गरे ।

आफूलाई भन्दा नेतृत्वमा आउने तयारीमा रहेकाहरुले पार्टीको बढी चिन्ता हुनुपर्ने उनले बताए ।

नेपाली राजनीतिमा आगामी दिनमा थप अवसर र चुनौती आउने भन्दै उनले ती दुवैको सामना गर्न तयार रहन पनि नेताहरुलाई भने । देउवाले अघिल्लो पुस्ताका नेताहरुलाई गाली नगर्न पनि भने ।

‘गाली गरेर केही हुनेवाला छैन । अहिलेदेखि नै पार्टीको नेतृत्व लिने तयारीमा लाग्नुस् । मैले भन्दा बढी पार्टीको चिन्ता तपाईंहरुले गर्नुपर्छ’, दोश्रो पुस्ताका नेताहरुतर्फ संकेत गर्दै उनले भने ।

काँग्रेस कमजोर बनाउन चाहने प्रवृत्ति सक्रिय रहकाले एकताबद्ध भएर अघि बढ्न पनि उनले पार्टी नेता कार्यकर्तालाई आग्रह गरे ।