८ बैशाख २०८२, सोमबार
Follow Us

शेष घले समितिको औचित्य सकियो: डा. बद्री केसी, अध्यक्ष, एनआरएनए

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०८१, शुक्रबार १९:३८

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा गठित निर्वाचन समितिको औचित्य समाप्त भएको बताएका छन्।

एनआरएनए पश्चिम अष्ट्रेलियाद्वारा शनिबार हुने नेपाल महोत्सवमा सहभागी हुन पर्थ आइपुगेका अतिथिहरू र सहयोगीहरूको सम्मानमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै डा. केसीले उक्त विचार व्यक्त गरेका हुन्।

उनले भने, “१०औं महाधिवेशनमा वैधानिक रूपमा निर्वाचन हुन नसकेको कारणले सर्वोच्च अदालतले शेष घलेको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो। तर, सो मुद्दा दर्ता हुँदा ११औं महाधिवेशन सम्पन्न भएको थिएन। अब ११औं महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भइसकेको अवस्थामा सो समितिको औचित्य छैन।”

डा. केसीले सर्वोच्च अदालतको पछिल्लो फैसलाले आफ्नो कार्यकालको ४ महिना खेर गएको बताउँदै, सो समयको पुनर्प्राप्तिका लागि आगामी दिनमा सक्रिय भएर लाग्न केन्द्रीय पदाधिकारी तथा राष्ट्रिय समितिहरूलाई आग्रह गरे। उनले क्षेत्रीय संयोजकहरूलाई आ-आफ्नो क्षेत्रमा सम्मेलनको तयारी गर्न निर्देशन दिए।

एक साताव्यापी अष्ट्रेलिया भ्रमणमा रहेका डा. बद्री केसीले गैरआवासीय नागरिकताबाट प्राप्त गर्नुपर्ने अधिकारमा अवरोधका रूपमा रहेका १२ वटा कानुनहरू अक्टोबर २७ अघि संशोधन हुने बताएका छन्। उनले नेपालीहरू विदेशमा जाने क्रम बढेपछि गाउँहरू रित्तिँदै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अब ‘देश फर्क’ अभियान सुरु गर्ने बेला आएको बताए।
डा. केसीले शनिबार पर्थमा आयोजना हुने नेपाली मेलाको उद्घाटन गर्ने कार्यतालिका रहेको छ।