एनआरएनए डे: परोपकारी परियोजनाहरू घोषणा हुने
लण्डन। गैरआवासीय नेपाली संघले संस्थाको स्थापना दिवस (एनआरएनए डे) भव्य रूपमा मनाउने तयारी गरेको छ।
‘एनआरएनए डे’ तयारी समितिका संयोजक डा. हेम राज शर्माका अनुसार, संघका विश्वभर छरिएका ८७ देशमा रहेका राष्ट्रिय समितिहरूलाई १ महिना लामो कार्यक्रम सार्वजनिक गर्न आग्रह गरिएको छ।
संघले अन्तरक्रिया, परोपकारी काम, पशुपति तथा स्वयंभूमा पूजा लगायतका गतिविधि गर्न तयारी गरेको छ। डा. शर्माका अनुसार, संघका राष्ट्रिय समितिहरूलाई ‘एक एनसीसी एक परियोजना’ घोषणा गर्न परिपत्र गरिएको छ।
संघले गैरआवासीय नेपालीहरूको समन्वय र एकता प्रवद्र्धन गर्ने विभिन्न कार्यशाला आयोजना गर्न राष्ट्रिय समितिहरूलाई अनुरोध गरेको छ।
यस वर्ष ११ अक्टोबरका दिन नवरात्रि अन्तर्गत नवमी पर्व परेकाले सो दिन स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरमा पूजाआजाको कार्यक्रम तय गरिएको छ।
संघले एनआरएनए डे को अवसरमा आगामी २७ र २८ अक्टोबरमा काठमाण्डूमा हुने विशेष कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन संघका प्रतिनिधि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिषदका पदाधिकारीहरूलाई आग्रह गरेको छ।