दाङ । एमाले महासचिव शंकर पोखरेलले काठमाण्डु महानगरका मेयर बालेन्द्र साह (बालेन) माथि अराजकको आरोप लगाएका छन् । पार्टी निकट पत्रकारको संगठन प्रेस चौतारी दाङले शनिबार बिहान घोराहीमा गरेको पत्रकार भेटभाटमा पोखरेलले बालेनको अराजकतालाई कसैले समर्थन नगर्न नहुने बताए ।
बालेनको चर्चाको आधार अराजकता भएको उनको भनाइ थियो । समाजमा अराजक विद्रोही चरित्रलाई आदर्श मान्ने प्रवृत्ति बढेर जानु चिन्ताको विषय भएको पोखरेलले बताए । ‘बालेनको चर्चाको आधार अराजकता हो । समाजमा अराजक विद्रोही चरित्रलाई आदर्श मान्ने प्रवृत्ति बढ्न थाल्यो’, पोखरेले भने, ‘यो राम्रो संकेत होइन । आफूलार्इ जे मन लाग्यो त्यही गर्ने कुरा राजनीति होइन ।’
पोखरेलले बालेन सफल हुन् कि होइनन् भन्ने जान्न उनले गरेका काम हेर्नुपर्ने पोखरेलले उल्लेख गरे । मेयरको असफलताकै कारण काठमाण्डु महानगर देशभरका महानगरमध्ये सबैभन्दा कमजोर रहेकाले बालेनलाई सफल भन्न नमिल्ने तर्क पोखरेलले गरे ।
बालेनको हर्कतका कारण राजधानी सबैका लागि सुरक्षित स्थान हुन नसकेको तथा गरिब, निमुखाको काठमाण्डु हुन नसकेको आरोप उनको छ ।