२८ असार २०८२, शनिबार
Follow Us

बेलायतका प्रधानमन्त्रीको प्रचण्डलाई पत्र, प्रधानमन्त्रीभन्दा माथिको दर्जा दिएको दाबी

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०८१, आईतवार ०५:०३

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलायतले आफूलाई प्रधानमन्त्री भन्दा माथिको दर्जा दिएको दाबी गरेका छन् ।

शनिबार पार्टी मुख्यालयमा आयोजत एक कार्यक्रममा उनले बेलायतका प्रधानमन्त्रीले पत्र लेखेर आफूलाई पठाएको बताए । पत्रमा के लेखिएको छ भन्नेबारे भने उनले खुलाएनन् ।

काँग्रेस–एमाले गठबन्धनले आफूलाई प्रधानमन्त्रीबाट हटाएपछि बेलायती प्रधानमन्त्रीले नेपालस्थित आफ्ना राजदूतमार्फत उक्त पत्र पठाएको उनको भनाइ थियो । आफूले त्यस्तो पत्र प्रधानमन्त्रीलाई दिनुपर्ने बताएपछि राजदूतले आफ्ना प्रधानमन्त्रीले प्रचण्डलाई नै दिनु भनेर पठाएको जवाफ दिएको उनले उल्लेख गरे ।

‘बेलायतका राजदूतले बेलायती प्रधानमन्त्रीको पत्र लिएर आउनुभयो । यहाँ मिडिया पनि छ । मैले बढी बोल्यो भन्ने हुन्छ होला फेरि । मैले यो त प्रधानमन्त्रीलाई दिने पत्र हो भनें । राजदूतले ‘तपाईं प्रधानमन्त्री हुनुस् या नहुनुस् । तपाई प्रधानमन्त्रीभन्दा माथिको नेता भएकाले तपाईंकै हातम दिनुस् भनेर प्रधानमन्त्रीले भन्नुभएकोले तपाई।लाई नै दिन ल्याएको हुँ’, भन्नुभयो’, प्रचण्डले भने ।

प्रचण्डले आफूलाई प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यान तानिएको दाबी गरे । उनले आफूलाई त्यति चाँडै प्रधानमन्त्रीबाट हटाइन्छ होला भन्ने विश्वले नै नसोचेको बताए । फरक प्रसंगमा प्रचण्डले आफूले दुई छिमेकीसँगको सम्बन्धमा सन्तुलन मिलाएको जिकिर पनि गरे ।

प्रचण्डलाई प्रधानमन्त्रीबाट हटेको भोलिपल्ट गत ३१ साउनमा नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले खुमलटारमा भेटेका थिए । भेटमा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगोमा पुग्न लागेकामा खुसी व्यक्त गरेका थिए ।

प्रचण्डको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकोमा बधाई दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधैँ सहयोग रहने प्रतिबद्धता उनले जनाएका थिए । भेटमा राजदूत फेनले बेलायती प्रधानमन्त्रीको तर्फबाट प्रेषित धन्यवादसहितको प्रेसित पत्र प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

धेरै पढिएको