२० आश्विन २०८१, आईतवार
Follow Us

पत्रकार अन्तरक्रिया: आयोजकभन्दा अतिथि धेरै, अधिकांश पत्रकार अनुपस्थित

नेपालब्रिटेन डट कम्
७ आश्विन २०८१, सोमबार ०७:५५

लण्डन । बेलायतमा आन्दोलनरत भूतपूर्व गोर्खा संघसंस्थाहरूको आइतवार भएको एक अन्तरक्रिया कार्यक्रममा विचित्र दृश्य देखियो।
नेपाल पत्रकार महासंघ यूकेको नाममा एउटा समूहले अल्डरशटमा आयोजना गरेको कार्यक्रममा आयोजकभन्दा धेरै अतिथिहरूको उपस्थिति थियो।

यसअघि, नेपाल पत्रकार महासंघ यूकेको फर्जी निर्वाचनमार्फत गठित विवादित एउटा समूहले २२ सेप्टेम्बर आइतवार गर्न लागेको ‘भूपू गोर्खा आन्दोलन, उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा विवादास्पद समितिलाई वैधानिकता दिने उद्देश्यले कार्यक्रम गर्न लागेको भन्दै नेपाल पत्रकार महासंघ यूके तयारी समितिले सो कार्यक्रमप्रति आपत्ति जनाएको थियो। गोर्खा अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा आधा दर्जन मात्र पत्रकार उपस्थित भए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्षहरू नरेश खपांगी मगर, चिरन शर्मा, विपिन निरौला, वरिष्ठ पत्रकार भगिरथ योगी, डा. जगन कार्की, श्याम लुईटेल, देवी गौतम र दिनेश परियार जस्ता प्रभावशाली पत्रकारहरू अनुपस्थित थिए। नेपाल पत्रकार महासंघ बेलायतमा सदस्यता प्राप्त गरेका ४० जना र सदस्यता प्राप्तिको लागि आवेदन दिएका २७ जना पत्रकार गरी जम्मा ६७ जना पत्रकार सक्रिय रहेका छन्।

पत्रकार महासंघ यूकेको तयारी समितिले विज्ञप्तिमार्फत विवादास्पद समूहको आयोजनामा हुने यस्ता अन्तरक्रिया कार्यक्रमले आन्दोलनरत भूपू गोर्खाहरूको आन्दोलनलाई थप कमजोर पार्ने र चर्को विवादमा पर्ने सम्भावना भएको भन्दै सचेत गराएको थियो।
विज्ञप्तिमा भनिएको छ, “नेपाल पत्रकार महासंघ यूके शाखाको विद्यमान विवाद समाधान भएपछि मात्र यस्ता जनसरोकारसंग सम्बन्धित अन्तरक्रियामा सहभागी नहुन अनुरोध गरिन्छ। बेलायतस्थित सबै सक्रिय पत्रकारहरू सहभागी हुने वातावरण नभएसम्म जबरजस्ती कार्यक्रमको आयोजना गरिँदा सो अन्तरक्रियालाई बहिष्कार गर्नुको विकल्प नहुने पनि जानकारी गराइन्छ।”

‘भूपू गोर्खा आन्दोलन, उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा गोर्खा आन्दोलनका अगुवाहरू ज्ञानराज राई, जुद्ध बहादुर गुरु, केश बहादुर गुरुङ, धर्म तामाङ लगायतले आआफ्ना भनाइहरू राखेका थिए। उनीहरूले भूपू गोर्खाहरूको माग सम्बोधन गर्न सरकारी स्तरिय वार्ता हुनु पर्नेमा जोड दिएका थिए।