काठमाडौं । पूर्व मन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका नेता, कार्यकर्ताहरूको ९० प्रतिशत समय आन्तरिक लडाइँमा नै बित्ने गरेको दाबी गरेका छन ।
आज (सोमबार) वीरेन्द्रनगरमा आयोजित कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले भने, ‘हाम्रो ९० प्रतिशत समय पार्टीभित्रको लडाइँमा गएको छ, एउटा अर्कासँग जुधेको छ, अर्को अर्कासँग जुधेको छ ।’
यसरी समय खेर फाल्नु नहुने तर्क उनको छ । ८ लाख सदस्य भएको पार्टीको राजनीतिक सामाजिक सङ्गठन नै नभएको बताउँदै थापाले अब यसलाई सुधार गरेर लैजानुपर्ने पनि उनले बताएका छन ।
उनले सङ्घीयताको विषयमा उनले कागजमा सङ्घीयता लेखिए पनि व्यवहारमा अझै लागू हुन नसकेको पनि बताएका छन । उनले भने, ‘हामी ठिक तरिकाले हिँड्न सकेका छैनौँ, केन्द्रले पनि ससाना बाटो बनाइरहेको छ । त्यही बाटो प्रदेशले पनि बनाइरहेको छ,’उनले भने, ‘यो अवस्था सुधार गरेर लैजानुपर्छ ।’