न्यूयोर्क । प्रवाशमा रहेका नेपालीलाई शिष्टताको परिचय दिन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, नेपालको समृद्धि र विकासका लागि प्रवासमा रहेका नेपालीले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उनीहरुसँग प्रधानमन्त्री ओलीले दोहोरो नागरिकताका समस्या र नेपालको संविधान संशोधनका सवालबारे पनि विचारविमर्श गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेपालीहरु जहाँ रहे पनि शिष्ट र मर्यादित हुनुपर्नेमा जोड दिँदै गैरआवासीय नेपाली सङ्घभित्र पनि विवाद भइरहने स्थिति अन्त्य हुनुपर्ने बताए । “नेपालीहरु जहाँ भए पनि यस्तै हो भन्ने प्रभाव पार्नु हुँदैन । साना स्वार्थले बुझ्दै नबुझी नराम्रा व्यवहार गर्न पुग्छन्, तिनीहरुलाई सम्झाइबुझाइ गरेर सही मार्गमा ल्याउनु हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले एकपटकको नेपाली सधैँका लागि नेपाली हुने मान्यतासहित काम गर्न आग्रह गर्दै राजनीतिक अधिकार प्रयोग गर्नुपरेमा प्रवासको नागरिकता निस्क्रिय पारेर गर्न सकिने बताउनुभयो ।
‘गणतन्त्र मास्ने कुरा हुन सक्दैन’
राजनीतिक प्रसङ्गमा सहभागीको जिज्ञासामा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यता, सङ्घीयता, गणतन्त्र र मुलुकको सार्वभौमसत्ताको रक्षाजस्ता विषयमा संविधान संशोधनमा हेरफेर नहुने भन्दै संविधानलाई परिस्कृत बनाउने क्रममा संशोधन आवश्यकपर्ने बताउनुभयो ।
उहाँले संविधान संशोधनको विषयमा दलहरुबचि आपसी छलफल गरी सहमतिका आधारमा गरिने भएकाले तत्काल संशोधन हुन सहज नभएको उल्लेख गर्नुभयो ।
टेक्ससमा पनि महावाणिज्यदूतावास खोल्न माग
यसैगरी नेपाली सोसाइटी अफ टेक्सस र नेप्लिज अर्गनाइजेशन अफ टेक्सस एण्ड सायदेन युनाइटेड स्टेट्सले प्रधानमन्त्री ओलीलाई भेटेर टेक्ससमा पनि नेपाली महावाणिज्यदूतावास खोल्न माग गरेका छन् ।
ती संस्थाले त्यहाँ कन्सुलर कार्यालय खोल्नका लागि निःशुल्क कार्यालय उपलब्ध गराउने अवगत गराएका छन् । प्रधानमन्त्री ओलीले त्यसबारे आवश्यक छलफल गर्ने बताउनुभएको थियो ।
नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह
यसैगरी क्यानडामा रहेका नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई भेटेर नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह गरेका छन् । हाल भारतमा गएर नेपालीले क्यानाडाको प्रवेशाज्ञा लिनुपर्नेलगायत समस्या भएकाले नेपालमा दूतावास खोल्नुपर्ने उनीहरुको आग्रह थियो ।