२८ असार २०८२, शनिबार
Follow Us

एउटा झोलुङ्गे पुल उद्घाटन गर्न ‘भिभिआइपी’ र ‘भिआइपी’ को लर्को

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०८१, शुक्रबार ०६:१४

काठमाडौँ । सुस्तावासीले एक दशक आश गरेर बल्ल उपयोग गर्न पाएको पुल उद्घाटनमा ‘भिभिआइपी’ र ‘भिआइपी’ को भने लर्को लागेको छ ।

भारतीय सीमामा पर्ने नवलपरासी सुस्तामा निर्माण भएको झोलुङ्गे पुल औपचारिक उद्घाटन भएको छ । निर्माण सुरु भएको नौ वर्षपछि सुस्ता पुल बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे । पुल उद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे।

ठेकेदार कम्पनीको लापरबाहीले बारम्बार अलपत्र छाडिँदै आएको झोलुङ्गे पुल (सस्पेन्सन ब्रिज) निर्माण भएको झन्डै एक दशकपछि सुस्तावासीले प्रयोग गर्न पाएका हुन् । असोज २०७२ मा निर्माण सुरु भएको यो पुल पुस २०७५ मा निर्माण सकिनुपर्ने थियो । ठेकेदार कम्पनीले बारम्बार अलपत्र छाड्दा समयमै काम पूरा भएको थिएन । त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले २३ करोडभन्दा बढी लागतमा ठेक्का लिएर पुल निर्माण गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मन्त्रीहरू, लुम्बिनी प्रदेशका मन्त्रीहरू, प्रतिनिधि र प्रदेश सभा सांसदहरू, मन्त्रालयका सचिवहरू लगायतको ठुलो टोली सुस्ता पुगेको थियो ।

कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले नारायणी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि सुस्तावासीले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए । सुस्ता गाउँपालिका–५ सुस्ता गाउँ जोड्ने पुल उद्घाटनमा बोल्दै सिंहले सुस्तावासी अब सुविधामा जोडिएको बताए ।

सुस्ता गाउँपालिका-५ नारायणी नदीपारिको सुस्ता बस्तीमा तीन सय ५० परिवारको बसोबास छ । उनीहरूमध्ये २५ प्रतिशतभन्दा बढीसँग नागरिकता र लालपुर्जा नभएको सुस्ता-५ का सदस्य आदम खाँले बताए। वर्षौँदेखि बसोबास गर्दै आए पनि उनीहरूसँग नागरिकता र लालपुर्जा नहुँदा विद्युत् उपभोगबाट वञ्चित रहँदै आएका वडा सदस्य खाँले बताए।

धेरै पढिएको