सर्लाही । लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई समयमा उद्धार र राहत नपुग्दा मानिसहरूको जीवन थप जोखिममा परेको छ।
देशभरको वर्षाका कारण सर्लाहीमा आएको भीषण पानीले हजारौं मानिसहरू विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख रविन्द्र बहादुर सिंहका अनुसार, सर्लाहीको बलरा नगरपालिकाको वडा नं १, २, ३, ५, ९, १२ मा ८०० घरपरिवार प्रभावित भएका छन्।
यस्तै, रामनगरको वडा नं १, २, ३ मा ३००, ब्रह्मपुरी गाउँपालिकाको वडा नं ५ मा ४० घरपरिवार प्रभावित भएका छन्। यस्तै, चक्रघट्टा गाउँपालिकाको वडा नं ५ मा २० परिवार डुबानमा परेका छन्।
बलरा नगरपालिका मेयर रामा शंकर प्रसाद कुशवाहाका अनुसार, बाढीपीडितहरूलाई अहिले स्थानीय श्री सुन्दर मावी बनपा–२ र श्री सुधा राजेश्वर माध्यमिक विद्यालय बनपा–११ को भवनमा अस्थायी रूपमा राखिएको छ। बलरा नगरपालिकामा मात्र २ सय ५० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। १ हजारभन्दा बढी घरलाई बाढीले क्षति पुर्याएको छ।
अविरल वर्षाका कारण धनखेतीमा ७५ प्रतिशतभन्दा बढी क्षति भएको छ। तरकारी बाली भने पूर्ण रूपमा नष्ट भएका छन्।
कुशवाहाका अनुसार, बलरा नगरपालिका वडाहरू १, २, ३, ४, ५, ६, ९, १०, र ११ पूर्ण रूपमा प्रभावित भएका छन्।
हाल, स्थानीय नगरपालिका र प्रमुख जिल्ला अधिकारी गोपा अधिकारीको संयोजकत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले सामूहिक खानपानको व्यवस्था गरेको छ।
बालबालिकाका लागि पौष्टिक आहार र औषधीको अभाव हुँदा सुत्केरी बिरामी र बच्चाहरूको अवस्था दयनीय रहेको स्थानीय समाजसेवी शान्ता पाण्डेले जानकारी दिएकी छिन्।