२५ असार २०८२, बुधबार
Follow Us

बाढी-पहिरो प्रभावितलाई प्रजिअ रोशनी श्रेष्ठद्वारा रकमसहित सामग्री वितरण

नेपालब्रिटेन संवाददाता
२४ आश्विन २०८१, बिहीबार ०४:२७

भक्तपुर । भक्तपुरको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले हालैको बाढी-पहिरो तथा डुबान प्रभावितलाई सरकारले उपलब्ध गराएको रु. तीन लाख रकमसहित अन्य सामग्री वितरण गरेकी छिन ।

पहिरोमा परी ज्यान गुमाएका मृतकका आफन्तलाई सङ्घीय विपद् व्यवस्थापन कोष र प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराएको राहत रकमसहित राहत सामग्री लिएर उनी आफैँ पहिरो-पीडितको बासस्थान पुगेकी हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेकी प्रजिअ श्रेष्ठले सूर्य विनायक नगरपालिका–८ स्थित आशापुरी नैचालमा पहिरोमा परेर मृत्यु भएका प्रतिमा तामाङका परिवारलाई रु. तीन लाख र मृतक सुकुमाया तामाङको श्रीमान् तथा छोराहरूलाई रु. तीन लाख नगद हस्तान्तरण गरेकी हुन् ।

यही असोज १२ गतेकै पहिरोमा परेर कालीकोट सानो त्रिवेणी–५ घर भई सूर्य विनायक –९ पलाखे बस्ने मृतक दमिला शाही र निजको छोरी प्रिया बमको दुई जनाको परिवारलाई रु. तीन लाख गणेश बमको बैंक खातामा जम्मा गरिदिएको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।

त्यस्तै पहिरोमा परेर घाइते भएकी सानु तामाङ र कान्छा तामाङको भने भक्तपुर अस्पतालमा निःशुल्क उपचार गरी राहतस्वरुप रु १५ हजार राहत रकम उपलब्ध गराएको उनले जानकारी दिइन् । मृतक परिवारलाई प्रजिअ श्रेष्ठले मृतक परिवारलाई तत्काल वासस्थानका निर्माणका लागि दुई वटा टेन्डर, तीन वटा त्रिपाल र भाँडाकुँडा दुई सेट हस्तान्तरण गरेकी छिन् ।

त्यसै गरी सूर्य विनायक नगरपालिकाले पनि सोही पहिरोमा परी ज्यान गुमाउने पाँच जनाकै परिवारलाई रु एक लाखको दरले राहत रकम प्रदान गरेको छ । नगर प्रमुख वासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता भट्टराईसहित गएका जनप्रतिनिधि टोलीले पीडितका वासस्थानमै पुगेर तामाङ परिवारलाई जनही रु. एक लाखको दरले रकम हस्तान्तरण गरेका हुन् ।

विस्थापितलाई टेन्ट र भाँडाकुँडा वितरण गरिइएको थियो । जिल्लामा ४० घर अझै पहिरोको उच्च जोखिममा रहेको जनाउँदै सात घरपरिवारलाई अन्यत्रै सारिएको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।

धेरै पढिएको