२७ असार २०८२, शुक्रबार
Follow Us

‘एनआरएनए डे विशेष समारोह’ को प्रधानमन्त्रीले उद्घाटन गर्ने, गृह र परराष्ट्र मन्त्रीले सम्बोधन गर्ने

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०८१, बुधबार १९:१९

लण्डन। “रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता” भन्ने नाराका साथ गैर–आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) द्वारा आयोजित एनआरएनए दिवसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।

आगामी आइतवार र सोमवार (अक्टोबर २७-२८, २०२४) मा काठमाडौंमा आयोजना हुने वार्षिक साधारणसभा तथा ग्लोबल कन्क्लेवमा सहभागी हुन एनआरएनएका केन्द्रीय पदाधिकारीहरू र प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्। कार्यक्रममा परराष्ट्रमन्त्री आरजु देउवा र गृहमन्त्री रमेश लेखकसहित अर्थमन्त्री विष्णु पौडेल र आदी दर्जन सरकारका मन्त्रीहरूको उपस्थिति रहने एनआरएनए संघले जनाएको छ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालको आर्थिक रूपान्तरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन्। एनआरएन नागरिकता, मताधिकार, गोर्खा मुद्दा, जलवायु परिवर्तनका प्रभावहरू, नेपालमा गैरआवासीय नेपालीहरूको १० अर्ब लगानी, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, र नेपालको पर्यटन प्रवर्द्धनजस्ता विषयमा विशेष सत्रहरू आयोजना गरिने छन्।

यसका साथै, महिला र बालबालिकाका दृष्टिकोणलाई प्राथमिकता दिँदै सामाजिक तथा आर्थिक पक्षबारे गम्भीर छलफल हुनेछ। नवप्रवर्तन, प्रविधि स्थानान्तरण, र अनुसन्धानको महत्वका विषयमा नेपालको दीर्घकालीन समृद्धिका लागि आवश्यक पहलबारे पनि ग्लोबल कन्क्लेवमा छलफल गरिनेछ। संघले सो कार्यक्रम सम्पन्न गर्नको लागि उपाध्यक्ष डा. हेम राज शर्माको संयोजत्वमा एक उच्चस्तरिय समिति गठन गरेको थियो ।

कार्यक्रममा एनआरएन विकास कोष (१० अर्ब लगानी) को शुभारम्भ गरिनेछ, जसले गैरआवासीय नेपालीहरूले नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने दीर्घकालीन परियोजनाहरूलाई समर्थन गर्नेछ।

वार्षिक साधारणसभामा संघका महासचिव गौरीराज जोशीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुदन थापाले आर्थिक प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ, संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सीनाले जानकारी दिएका छन्।

कार्यक्रममा सहभागी हुन एनआरएनएका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष डा. हेमराज शर्मा र रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी, सचिव टीका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना, सल्लाहकारद्वय चिरञ्जीबी ढकाल, अतुल कोइराला, क्षेत्रीय उप-संयोजक पूर्णचन्द्र बानियाँ, महिला क्षेत्रीय संयोजक इन्दिरा त्रिपाठी, यूरोप महिला संयोजक प्रसुन्ना कँडेल, एनसीसी कोम्बोडियाका अध्यक्ष लालसिंह खड्का, एनसीसी अष्ट्रेलियाकी सह-कोषाध्यक्ष रोजी पन्त लगायतका पदाधिकारीहरू काठमाडौंमा भेला भएका छन्। संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने र भवन भट्ट, पूर्व कोषाध्यक्ष महेश श्रेष्ठ समेत अन्य वरिष्ठ नेतृत्व काठमाडौंमा उपस्थित रहेका छन्।

धेरै पढिएको