१९ कार्तिक २०८१, सोमबार
Follow Us

नटिंघममा “दशै तिहार शुभकामना आदानप्रदान साँझ”

नेपालब्रिटेन डट कम्
९ कार्तिक २०८१, शुक्रबार ०६:३४

नेपाली समाज नटिंघमले गत २१ अक्टोबर २०२४ मा “दशै तिहार शुभकामना आदानप्रदान साँझ” भव्य रुपमा सम्पन्न गरेको छ। संस्थाको दशै–तिहार कार्यक्रममा यसपटक पनि नटिंघमवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नेपाली समाज नटिंघमका अध्यक्ष राम प्रसाद पन्थीले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन महासचिव बीरेन्द्र खड्काले हेल्थ एण्ड सेफ्टी सम्बन्धी जानकारी दिएर गर्नुभएको थियो।

कार्यक्रमको शुरुवातमा ज्ञात-अज्ञात शहीद र नेपाली समाज नटिंघमका आजीवन सदस्यहरुले गुमाएका आफ्ना अभिभावकप्रति एक मिनट मौन धारण गरियो। त्यसपछि नेपाली राष्ट्रिय गान र बेलायती नेसनल एन्थेम गाइयो। संस्थापक अध्यक्ष तथा प्रमुख अभिभावक रण बहादुर केसी, ओमेन फाउण्डेशनकी अध्यक्ष निरू चालिसे, र अध्यक्ष राम प्रसाद पन्थीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो।

स्वागत मन्तव्य उपाध्यक्ष मूकून्दहरी खरालले दिनुभएको थियो। शुभकामना मन्तव्य संस्थाका भूपू अध्यक्ष तथा आईसीसी सदस्य विष्णु चालीसे, एनआरएनए यूकेका महासचिव गोविन्द खरेल पूर्व अध्यक्ष प्रविष्णा पाण्डे, संस्थापक अध्यक्ष रणबहादुर केसी, र ओमेन फाउण्डेसनकी अध्यक्ष निरू चालिसेले दिनुभएको थियो। उपस्थित पाहुनाहरुको स्वागत साझ नेपाली समाज युकेका अध्यक्ष दिपक सापकोटाले गर्नुभयो।

कार्यक्रमको सजावट र तयारीमा निवर्तमान अध्यक्ष रबिन्द्र शर्माले विशेष भूमिका निभाउनुभयो। कोषाध्यक्ष रबिन्द्र गिरीले कोष व्यवस्थापन र राफलको तयारीमा मुख्य भूमिका निभाउनुभयो। खानपान व्यवस्थापनमा कार्यसमिति सदस्य चोलाकान्त न्यौपानेसहित अन्य सदस्यहरुले सहयोग गर्नुभएको थियो। पाहुनाको सम्मान र स्वागतमा नटिंघम हिला समूहकी अध्यक्ष निरू चालिसे तथा कला भट्टराईलगायतका महिला सदस्यहरुले विशेष भूमिका निभाउनुभयो।

समाजका महासचिव बीरेन्द्र खड्काका अनुसार कार्यक्रममा लगभग ३०० जनाको उपस्थिति रहेको थियो। स्थानीय कलाकारहरुको प्रस्तुति, डिजे हेम बिस्ट तथा चर्चित गायक श्रीकृष्ण बम मल्ल र गायिका कला लम्सालको प्रस्तुतीले दर्शकलाई मनोरञ्जन प्रदान गर्यो।

अध्यक्ष राम प्रसाद पन्थीले कार्यक्रममा सहभागी सबैलाई स्वागत र धन्यवाद ज्ञापन गर्दै नेपाली समाज नटिंघमका सदस्यहरुको योगदानको प्रशंसा गर्नुभयो। उहाँले सम्पूर्ण नटिंघमवासीलाई विजया दशमी र तिहारको हार्दिक शुभकामना दिएर औपचारिक कार्यक्रमको समापन गर्नुभयो।

मनोरञ्जनात्मक कार्यक्रमको सञ्चालन यज्ञ डुम्रेले गर्नुभयो। राष्ट्रिय कलाकारहरुको संगीतले संगीतमय वातावरण बनाएको यस कार्यक्रम रातको १० बजे समापन गरियो।