१९ कार्तिक २०८१, सोमबार
Follow Us

राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०८१, आईतवार ०७:५६

काठमाण्डौं । गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले सरकारी हस्तक्षेपले गैरआवासीय अभियानमा समस्या आएको बताउनु भएको छ। संघको ग्लोबल कन्केभ तथा साधरणसभालाई संबोधन गर्दै अध्यक्ष केसीले बारम्बार सरकारी हस्तक्षेपले सिर्जना भएको समस्या छलफलबाटै समाधान गर्न सकिने बताउनु भएको हो।

कार्यक्रममा अध्यक्ष केसीले विश्वभर नेपालको राम्रो इमेज बनाउने काम गरिरहेको बताउनु भयो। विश्वका ११५ बढी देशमा पुगेर नेपाललाई चिनाउने काम गरेको बताउँदै नेपालमा प्राकृतिक प्रकोप पर्दा गैरआवासीय नेपाली सधै तयार रहेको उल्लेख गर्नुभयो।

‘विदेशमा बस्ने नेपालीले वार्षिक १५ खर्ब बढी रेमिट्यान्स पठाएका छन्। ठुलो लगानी समेत भित्रिएको छ,’ अध्यक्ष केसीले भन्नुभयो,‘नेपालमा लगानी गर्न विदेशी भएर गर्नुपर्ने अवस्था छ। कानुन संसोधन गरेर सिमा नतोकी लगानी भित्राउन दिनुपर्छ।’

अध्यक्ष केसीले नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिएपनि त्यसको कुनै काम नभएको बताउनु भयो।
‘सरकारले नागरिकता त दिएको छ तर कुनैपनि सरकारी काममा प्रयोगमा आउँदैनन,’ उहाँले भन्नुभयो,‘सरकारले स्पष्ट कानुन बनाएर त्यसको उपयोग बढाउनु पर्छ।’

उहाँले नेपाल सरकारको हस्तक्षेपकै कारण गत अधिवेशन विवादमा परेको बताउनु भयो।
‘सिआईबी लगाएर धरपडक गरियो। तर अनुसन्धान रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएन,’ उहाँले भन्नुभयो,‘अध्ययन रिपोर्टमा के देखियो सार्वजनिक गर्नुपर्यो।’

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता मुख्य नारा दिएर सोल्टी होटलमा एनआरएनए डे र वार्षिक साधरणसभा सोल्टी होटलमा शुरु भएको छ।

कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विगत केही वर्षमा गैरआवासीय नेपालीको इमेज धुमेलिएको बताउँदै संघ एकजुट भएर देश र समुदायकोलागि काम गर्नुपर्ने बताउनु भयो।
‘सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप गर्दैन। तपाईहरुले राजनीतिक दलको राजनीति संघमा नगरिदिनु,’ उहाँले भन्नुभयो,‘म एमालेको प्रधानमन्त्री होइन देशको हो। एनआरएनएको पदाधिकारी दलको होइन संस्थाको हुनुपर्छ।’
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली नागरिकताको कुनै प्रयोग नभएको बताउँदै उपयोगी बनाउन के के गर्नुपर्ने हो प्रस्ताव ल्याउन आग्रह गर्नु भएको छ। उहाँले संसदबाट ऐन संसोधन गर्ने बताउनु भयो।
‘कहिले कहिले खुल्ला सत्रै गाह्रो। होटलकै नोक्सानी हुने डर,’ उहाँले भन्नुभयो,‘बन्द शत्र त गर्न सक्ने अवस्था नै छैन। पहिला तपाईहरु एक जुन हुनु।’
एनआरएनएलाई नेपालमा काम गर्नकोलागि पूर्वधार तयार भैसकेको बताउनु भयो।
‘सगठनलाई एकताबद्ध राख्न सक्नुभयो भने काम गर्न कुनै समस्या हुँदैन,’ उहाँले भन्नुभयो,‘नेपालमा काम गर्नकोलागि सडक, हवाई पूर्वधारले जोडिएकाले विकासकालागि सुगम भएको छ।’
कार्यक्रममा परराष्ट्र मन्त्री आरजु राणा अस्वस्थ भएको बताउँदै गृह मन्त्री रमेश लेखकले प्रतिनिधित्व गरेको जानकारी गराउनु भयो।
विषेश अतिथि गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली एक जुट भएर राष्ट्रलाई योगदान गरेको बताउनु भयो।
‘गैरआवासीय नेपाली विश्वभर अवैतानिक दुतको रुपमा हुनुहुन्छ। नेपाललाई कसरी देखउनु हुन्छ नेपालको इमेज त्यस्तै बन्छ,’ गृहमन्त्री लेखकले भन्नुभयो।
गैरआवासीय नेपालीलाई नागरिकता नै दिएपनि त्यसको उपयोग हुन नसकेको बताउनु भयो।
‘अहिले नागरिकता बोकेर कुनै सरकारी कार्यलयमा पुग्दा कुनै अधिकार पाएको छैन,’ उहाँले भन्नुभयो,‘संविधान मै भएको व्यवस्था कार्यन्वयन गर्न आगामी अधिवेशनमा संसोधन प्रस्ताव लैजान सक्छौं।’ लोकतन्त्र अराजकता नभई अनुशासन समेत रहेको बताउनु भयो।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले व्यक्तिगत रुपमा जति सफलभएपनि देश सफल हुनुपर्ने उद्देश्यले एनआरएनए अभियान शुरु भएको स्मरण गर्दै शुरुमा मुटुबाट सोचेपनि पछिल्लो समय बुद्धि लगाउँदा गैरआवासीय संघमा समस्या आएको बताए।

‘हामीले विदेशको धानाढ्य, ठुलो विश्वविद्यालयको प्रोफेसर भनेर नेपालमा मन्त्रालय, विश्वविद्यालयलाई सुझाव दिने गरेका छौं,’ महतोले भन्नुभयो,‘तर अभियानलाई नै संगै राख्न सकेनौं। सबैले संकल्प गरौं देश समृद्धि नभएसम्म केही हुँदैन।’
उहाँले छिट्टै नै एकजुट भएर गैरआवासीय अभियानलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

संघले नेपालमा १ अर्ब बढी परोपकारका क्षेत्रमा काम गरेको पुस्तक सार्वजनिक गरेको छ।
उपाध्यक्ष हेमराज शर्माले नेपालमा १ खर्ब बढी लगानी गरेको तथ्यांक रकर्डमा रहेको बताउनु भएको छ। नेपालबाट विदेशीएका नेपाली पाँच तारे होटल सञ्चालन देखी हावर्ड, अक्सफोर्ड, एमआईटी जस्ता विश्व चर्चित विश्वविद्यालयमा पुगेको बताउँदै भविष्यमा नेपाल निर्माण गर्न फर्कने विश्वास व्यक्त गर्नुभयो।

‘गैरआवासीय नेपाली संघ सिमित व्यक्तिको बनाउने की सबैको बनाउने भन्ने दन्दको कारण उतार चढाव देखिएको छ,’ उहाँले भन्नुभयो,‘केहीले नयाँ पद्धति स्वीकार नगर्दा समस्या देखिएको छ।’
उहाँले एनआरएनए ऐनका केही व्यवस्था संसोधनको आवश्यकता रहेकाले सरकारले अगाडी बढाउन आग्रह गर्नुभयो।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्द्री पण्डे, खेलकुद मन्त्री तेजुलाल चौधरी सहित विभिन्न राजनीतिक दलका नेता, व्यवसायीक संघ सस्थाको उपस्थिती रहेको थियो।