लण्डन । बेलायतमा रहेका नेपालीको वंशजको आधारमा नागरिकता निरन्तरतासम्बन्धी अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गर्ने भएको छ ।
तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको प्रतिनिधि मण्डलको ज्ञापन पत्र बुझ्दै सोमबार गृहमन्त्री सुधन गुरुङले कार्यदल गठन गर्ने बताएका हुन् । कार्यदल गठन गर्न मन्त्री गुरुङले गृह सचिवलाई निर्देशन दिएका छन् ।
बेलायतमा रहेका नेपालीहरूको वंशजका आधारमा नागरिकता निरन्तरताको माग राख्दै तमु धीं युकेले ज्ञापन पत्र बुझाएको थियो । उक्त विषयमा अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी समस्या समाधानको लागि कार्यदल गठन गर्न गृहमन्त्री गुरुङले सचिवलाई निर्देशन दिएका हुन् ।
‘वंशजको आधारमा नागरिकता निरन्तरतासम्बन्धी यसअघि पनि मागहरू उठिरहेको छ । निरन्तर नागरिकताका विषयमा अध्ययन गर्न कार्यदल गठन गरिनेछ,’ ज्ञापन पत्र बुझ्दै गृहमन्त्री गुरुङले भने, ‘कार्यदललाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी समस्या समाधानका लागि सरकारले काम गर्नेछ ।’
उनले यस विषयमा यसअघि पनि मागहरू उठेकाले तमू धीं यूकेले बुझाएको ज्ञापन पत्रका आधारमा कार्यदल गर्ने बताएका हुन् । तमु धीं यूकेका महासचिव डा। विशाल गुरुङले बेलायतमा रहेका सम्पूर्ण नेपालीहरूको तर्फबाट गृहमन्त्री समक्ष वंशजको आधारमा नागरिकताको निरन्तरता मागसहितको ज्ञापन पत्र पेस गरिएको बताए ।
प्रतिनिधिमण्डलमा अध्यक्ष जुमकाजी गुरुङसहित वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा। विशाल गुरुङ, सचिव विमल गुरुङ र तमु धीं आमा समूह अध्यक्ष कमलादेवी गुरुङ थिए ।
तमु धीं यूकेले गृह मन्त्रालयलाई बुझाएको पत्रमा पूर्वब्रिटिस गोर्खा सैनिक तथा उनीहरूका परिवारको नेपालसँगको ऐतिहासिक, पारिवारिक र वंशज सम्बन्धलाई विशेष मान्यता दिन आग्रह गरेको छ ।
पूर्वब्रिटिस गोर्खा सैनिकका नागरिकता, वंशज अधिकार र नेपालसँगको सम्बन्धलाई सामान्य आप्रवासन वा वैदेशिक रोजगारीको दृष्टिकोणबाट मात्रै हेर्न नहुने ज्ञापन पत्रमा उल्लेख छ । सन् २००४ मा पूर्वब्रिटिस गोर्खा सैनिकलाई बेलायतमा स्थायी बसोबास र त्यसपछि बेलायती नागरिकता प्राप्त गर्ने बाटो खुले पनि त्यस बेला नेपाली नागरिकता तथा वंशज अधिकार गुम्ने विषयमा स्पष्ट व्यवस्था नरहेको संस्थाको दाबी छ ।
तमू धीं यूकेले विशेषगरी बेलायतमा जन्मिएका वा पछि जन्मिएका गोर्खा परिवारका सन्तानको वंशजका रूपमा नेपालसँगको सम्बन्ध र कानुनी अधिकार स्पष्ट र सहज बनाउनुपर्ने समेत माग गरेको छ । विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गरी आवश्यक सुधार गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
संस्थाले पूर्वब्रिटिस गोर्खा सैनिक तथा उनीहरूको परिवारको नेपालसँगको ऐतिहासिक, पारिवारिक तथा वंशज सम्बन्धलाई विशेष मान्यता दिन, बेलायतमा जन्मिएका गोर्खा परिवारका सन्तानको वंशज नागरिकता साथै नेपालसँगको कानुनी सम्बन्ध सहज बनाउन र गैरआवासीय नेपालीसम्बन्धी सामान्य व्यवस्थाभन्दा गोर्खाहरूको विशिष्ट ऐतिहासिक योगदानलाई छुट्टै सम्बोधन गर्न माग गरेको छ ।
त्यस्तै, बेलायत सरकार, नेपाल सरकार र गोर्खा प्रतिनिधिबीच भइरहेको संवादलाई निरन्तरता दिँदै गोर्खा न्यायका बाँकी मुद्दा समाधान गर्न उच्चस्तरीय र अर्थपूर्ण वार्ता अघि बढाउन संस्थाले आग्रह गरेको छ । गोर्खा समुदायको दीर्घकालीन जनसांख्यिक, सामाजिक तथा आर्थिक प्रभावबारे तथ्यमा आधारित अध्ययन र नीति निर्माण गर्न पनि माग गरिएको छ ।
पत्रमा विदेशमा रहेका गोर्खा परिवार तथा उनीहरूका सन्तानबाट नेपाल फर्कने सीप, पुँजी, अनुभव, ज्ञान र विशेषज्ञतालाई उपयोग गर्ने विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने उल्लेख छ । पूर्वब्रिटिस गोर्खाले नेपालको नाम विश्वभर स्थापित गर्न आफ्नो जीवनको महत्त्वपूर्ण समय समर्पण गरेको भन्दै उनीहरूको सेवा र योगदानलाई विगतको इतिहासका रूपमा मात्र नभई नेपालसँग निरन्तर जोडिएको सम्बन्धका रूपमा हेर्नुपर्ने समेत तमु धीं यूकेको भनाइ छ ।