लन्डन । पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको बेलुन महोत्सव आयोजना हुँदैछ। यो कार्यक्रम बेलुन नेपालले आगामी डिसेम्बरको अन्तिम साता आयोजना गर्ने तयारी गरिरहेको छ। बेलुन नेपाल विगत ६ वर्षदेखि पोखरामा हट एअर बेलुन सञ्चालन गर्दै आएको छ।
लन्डनमा आयोजित एक विशेष कार्यक्रममा बेलुन नेपाल र करिज्माटिक इभेन्टका प्रतिनिधिले महोत्सवबारे नेपाली समुदायलाई जानकारी गराए। डिसेम्बर २४ मा सुरु हुने महोत्सव जनवरी १, नयाँ वर्षको दिन सम्पन्न हुनेछ।
करिज्माटिक इन्टरटेनमेन्टका प्रमुख सुरेश तण्डुकारका अनुसार महोत्सवलाई सफल बनाउन व्यापक तयारी भइरहेको छ। नेपालसहित २० भन्दा बढी मुलुकका १ लाख ५० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। करिब ५ सय रोपनी क्षेत्रफलमा आयोजना हुने यस महोत्सवमा ३० भन्दा बढी हट एअर बेलुनहरू रहनेछन्, जसका लागि बेलायत, स्पेन र अन्य युरोपेली देशका अनुभवी पाइलटहरू ल्याइनेछ।
सुरक्षाका लागि विशेष ध्यान दिइएको र यात्रुहरूको लागि २० हजार डलरको बीमा व्यवस्था गरिएको जानकारी तण्डुकारले दिए। महोत्सवमा १ सयभन्दा बढी खाना, व्यापार, र खेलकुदका स्टलहरू रहनेछन्। २० भन्दा बढी राष्ट्रिय स्तरका कलाकारले मनोरञ्जनात्मक प्रस्तुति दिनेछन्।
महानायक राजेश हमाल र अभिनेत्री प्रियंका कार्की महोत्सवका ब्रान्ड एम्बेसडर हुन् भने चिनियाँ कम्पनी बी वाई डी प्रमुख प्रायोजक रहेको छ।
बेलुन नेपालका सहसंस्थापक दीपक श्रेष्ठले यो महोत्सव नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको बताए। पोखरालाई साहसिक पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास उनले व्यक्त गरे।
हट एअर बेलुन उडानको पूर्ण सुरक्षा सुनिश्चित गरिएको जनाउँदै श्रेष्ठले सबैलाई महोत्सवमा सहभागी भई बेलुनको अनुभव लिन आग्रह गरे। उनले भने, “नागरिक उड्डयन प्राधिकरणको नियम पालना गर्दै हामी यात्रुको सुरक्षामा विशेष ध्यान दिन्छौं। नौ हजार फिटको उचाइबाट धौलागिरी, माछापुच्छ्रे र फेवातालको मनोरम दृश्य अविस्मरणीय हुनेछ।”
यो महोत्सवको सफलताका लागि नेपाल सरकार, गण्डकी प्रदेश सरकार, एनआरएनए, पोखरा महानगरपालिका लगायतसँग सहकार्य भइरहेको उनले जानकारी दिए।
लन्डनमा कार्यक्रमको अवसरमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले महोत्सवको सफलताको शुभकामना दिँदै सुरक्षाका उपायहरू सुनिश्चित गर्न सुझाव दिए।
बेलुन नेपालका संस्थापक अध्यक्ष विक्रम बाँडे हुन् भने दीपक श्रेष्ठ सहसंस्थापक/निर्देशक र अन्य निर्देशकहरूमा सविन महर्जन, विष्णु ढकाल, र रोबर्ट विश्वकर्मा छन्।