लण्डन । स्पेलथोर्न बरो काउन्सिलले यस वर्ष पहिलो पटक दिवाली पर्व भव्यरूपमा मनाएको छ। यो विशेष कार्यक्रम मेयर, काउन्सिलर मेड बक (Cllr Med Buck) को अध्यक्षतामा शनिबार साँझ स्ट्यानवेल टाउन हलमा सम्पन्न भयो। “फेस्टिभल अफ लाइटिंग” नाम दिइएको यस च्यारिटी कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिहरू, स्थानीय काउन्सिलरहरू, समाजसेवीहरू तथा दर्जनौं स्थानीय व्यक्तिहरूको उत्साहजनक उपस्थिति थियो।
दिवाली कार्यक्रमको मुख्य आकर्षणमा भारतीय सांस्कृतिक प्रस्तुतीहरू थिए। स्थानीय कलाकारहरूले शास्त्रीय भारतीय नृत्य तथा हास्य प्रस्तुतिहरू पस्केर उपस्थित दर्शकहरूलाई मनोरञ्जन गराए। सांस्कृतिक प्रस्तुतिहरूले भारतीय सभ्यता र परम्पराको झल्को दिने प्रयास गरेका थिए, जसले सबैलाई मन्त्रमुग्ध बनायो।
कार्यक्रमको औपचारिक भागमा, मेयर मेड बकले चार च्यारिटी संस्थाहरूलाई विशेष सम्मान प्रदान गरे। सम्मानित हुने संस्थाहरूमा आशफोर्ड एण्ड सेन्ट पिटर अस्पताल च्यारिटी, स्ट्यानवेल फूड बैंक, म्यानर मेड प्राइमरी स्कूल, र न्यूलाईफ च्यारिटी रहेका थिए। यी संस्थाहरूले स्पेलथोर्न क्षेत्रमा उल्लेखनीय सामाजिक कार्य गर्दै आइरहेका छन्, र तिनीहरूको योगदानलाई कदर गर्दै मेयरले सम्मान अर्पण गरेका हुन्।
यस कार्यक्रमको उद्देश्य समुदायलाई एक ठाउँमा ल्याउने र सहयोग र सहकार्यको भावना फैलाउनु रहेको थियो। मेयर बकले आफ्नो मन्तव्यमा समुदायबीचको एकता र विविधतालाई दिवाली पर्वले कसरी उजागर गर्दछ भन्ने कुरा उल्लेख गर्दै सबैलाई शुभकामना दिए। उनले भने, “दिवाली उज्यालोको पर्व हो, र हामी सबैलाई मिलेर अगाडि बढ्न प्रेरित गर्दछ।”
कार्यक्रमले स्थानीय समुदायलाई सांस्कृतिक रुपमा जोड्न र च्यारिटी संस्थाहरूलाई समर्थन गर्ने उद्देश्य पूरा गरेको छ। उपस्थित सबैले कार्यक्रमलाई सकारात्मक प्रतिक्रिया दिए, र भविष्यमा यस्ता थप कार्यक्रमको अपेक्षा गरे।