लण्डन। अमेरिकाको क्यालिफोर्निया राज्यस्थित हर्कुलिस शहरका वर्तमान योजना आयुक्त डिल्ली भट्टराई नगर परिषद सदस्यमा विजयी भएका छन्। गत नोभेम्बर ५ मा सम्पन्न अमेरिकी आमनिर्वाचनमा उनले चार जना प्रतिस्पर्धीबीच दोस्रो स्थान हासिल गर्दै परिषद सदस्यको पद सुरक्षित गरेका हुन्।
डिल्ली भट्टराईको कार्यकाल जनवरी १ देखि सुरु हुने छ र यो कार्यकाल चार वर्षसम्म रहनेछ। नगर परिषदको निर्णयअनुसार, कार्यकालको बीचमा नगर प्रमुखको पालो स्वचालित रूपमा आउने भएकाले उनले १-२ वर्षभित्र हर्कुलिसको नगर प्रमुख बन्ने अवसर प्राप्त गर्न सक्नेछन्। भट्टराईले इनेप्लिजसँगको कुराकानीमा यसबारे पुष्टि गरेका छन्।
उक्त निर्वाचनमा भट्टराईको प्रचार प्रसार अत्यन्तै जुझारु र क्रियाशील देखिएको थियो, जसले गर्दा मतदाताहरूले उनलाई विश्वासका साथ चार वर्षका लागि नगर परिषदमा चुनेका हुन्। चुनावी अभियानको क्रममा उनलाई हर्कुलिसका पाँच पूर्व नगर प्रमुख, उपप्रमुख, र सबै नगर परिषद सदस्यहरूको समर्थन प्राप्त भएको थियो। साथै, पूर्व प्रभावशाली नगर प्रमुखहरूले पनि उनको पक्षमा साथ दिएका थिए।
भट्टराई नेपाली मूलका एक सामाजिक अभियन्ता हुन्, जो लामो समयदेखि क्यालिफोर्नियामा बसोबास गर्दै आइरहेका छन्। उनले विभिन्न संघसंस्थामा आबद्ध रही सक्रिय भूमिका निभाउँदै आएका छन्।
यो निर्वाचनमा भट्टराईसहित चार जना डेमोक्र्याटिक उम्मेदवार प्रतिस्पर्धामा थिए, जहाँ नगर परिषदको तीन पदका लागि प्रतिस्पर्धा हुँदै थियो। भट्टराईले दोस्रो स्थान सुरक्षित गर्दै नगर परिषद सदस्यको रूपमा विजयी भएका हुन्।